दिल्लीमा ६ तले भवन भत्किँदा चार जनाको मृत्यु, थप मानिस पुरिएको आशङ्का

आप्रवासन आप्रवासन

दिल्लीको सीमापुरी क्षेत्रमा बुधबार एक बहुतले भवन ढल्दा चार जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्। जिल्ला अधिकारी अजय कुमारले समाचार एजेन्सी एएनआईलाई बताए अनुसार अहिलेसम्म तीन महिला र एक बालकको शव फेला परेको हो। 

भगनावशेस सडकमा खसेकाले त्यसमुनि कुनै पैदल यात्री फसेका छन् या छैनन् भन्ने निश्चित नभएको र सावधानीपूर्वक कार्य भइरहेको उनले जानकारी दिए। राहत तथा उद्धारको करिब ७५ प्रतिशत काम सकिएको र बाँकी काम पूरा हुन अझै चार-पाँच घण्टा लाग्ने अनुमान गरिएको छ। 

टोलीले हिजोदेखि नै निरन्तर र रातभरि काम गरिरहेको तथा उद्धार कार्य चाँडोभन्दा चाँडो सक्ने प्रयास भइरहेको अधिकारीहरूले बताएका छन्। यस दुर्घटनाका सम्बन्धमा आम आदमी पार्टीका विधायक वीर सिंह धींगानले आफूलाई बुधबार दिउँसो साढे तीन बजेतिर सीमापुरीबाट भवन ढलेको खबर आएको बताएका थिए। खबर पाउनासाथ उनले १०० नम्बरमा फोन गरी प्रहरी नियन्त्रण कक्ष तथा डीसीपीलाई जानकारी गराएका थिए।

उक्त भवन करिब २५ गजको घडेरीमा बनेको र पाँचदेखि छ तले रहेको बताइएको छ। करिब एक-दुई वर्ष मात्र पुरानो उक्त भवनमा एक मुस्लिम परिवार बसोबास गर्दै आएको थियो।