काठमाडौँ । फर्जी दस्तावेज बनाएर दुबई जान लागेका एक नेपाली युवक भारतको लखनउस्थित चौधरी चरणसिंह अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । विमानस्थलका अध्यागमन कर्मचारी नागेन्द्र कुमार सिंहका अनुसार मंगलबार राति उनले नै ती नेपाली युवकलाई फर्जी पासपोर्ट बोकेर दुबई जान लागेको अवस्थामा फेला पारेका थिए ।
पक्राउ पर्नेमा कैलालीको लम्कीचुहा- १० निवासी दिनेश खड्का छन् । उनको साथबाट नेपाली नागरिकता, नेपाली प्यान कार्डसमेत बरामद भएको बताइएको छ ।
अध्यागमन कर्मचारी सिंहलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाए अनुसार खड्काले भारतको लखीमपुर खीरी जिल्ला, तिकोनिया पोस्ट, सुधना बरसोला ठेगाना भएको दिलीपकुमार (उमेर २२ वर्ष) का रुपमा भारतीय नक्कली राहदानी प्रयोग गरेका थिए ।
अध्यागमनमा शंका लागेर सोधपुछ गर्दा उनले कतिपय कुराको प्रस्ट जबाफ दिन नसकेपछि उनको सामान खानतलासी गरिएको थियो । सोही क्रममा उनको नेपाली नागरिकता र प्यान कार्ड फेला परेको बताइएको छ ।
खड्काले आफू केही एजेन्टका माध्यमबाट नक्कली भारतीय दस्तावेज बनाएको स्वीकार गरेका छन् । उनलाई नियन्त्रणमा लिएर थप कारबाही प्रक्रिया अघि बढाएको जनाइएको छ ।