गाजाको सबैभन्दा ठुलो अस्पतालमा इजरायली हवाई हमला, कम्तीमा ६ जनाको मृत्यु

आप्रवासन आप्रवासन

गाजा । दक्षिणी गाजास्थित नासिर अस्पतालको एक भवनमा इजरायली हवाई हमला हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ । 

हमास नियन्त्रित सिभिल डिफेन्स एजेन्सीका एक अधिकारीले बीबीसीलाई बताएअनुसार बिहीबार बिहान सबेरै भएको उक्त आक्रमणमा २० जना घाइते समेत भएका छन् ।

प्रत्यक्षदर्शीका अनुसार उक्त क्षेत्रको आकाशमा केही बेर देखा परेको लडाकु विमानबाट प्रहार गरिएको मिसाइल अस्पतालको शल्यक्रिया वार्ड र आईसीयू रहेको भवनमा खसेको थियो । आक्रमणमा ज्यान गुमाउनेमध्ये एक शल्यचिकित्सक पनि रहेको बताइएको छ । 

घटनाका विषयमा बीबीसीले प्रतिक्रिया मागे पनि इजरायली सेनाका तर्फबाट हालसम्म कुनै जवाफ आएको छैन । इजरायलले बीबीसीलाई गाजा पट्टीभित्रबाट स्वतन्त्र रूपमा रिपोर्टिङ गर्ने अनुमति नदिएकाले घटनासम्बन्धी विवरणको स्वतन्त्र पुष्टि हुन सकेको छैन ।

नासिर अस्पताल दक्षिणी गाजाको सबैभन्दा ठुलो अस्पताल हो । यसअघि सन् २०२५ को अगस्टमा पनि यहाँ भएको दोहोरो इजरायली आक्रमणमा पत्रकार र स्वास्थ्यकर्मीसहित कम्तीमा २० जना मारिएका थिए ।

गत वर्ष अक्टोबरमा युद्धविराम सम्झौता भए पनि गाजामा इजरायली हमला रोकिएका छैनन् । गाजाको हमास सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार युद्धविरामयता १ हजार ६ सयभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । 

संयुक्त राष्ट्रसङ्घले उक्त मन्त्रालयको तथ्याङ्कलाई विश्वसनीय मान्दै आएको छ । इजरायल र हमासले एकअर्कामाथि युद्धविराम उल्लङ्घन गरेको आरोप लगाउँदै आएका छन् ।