कुवेतमा लागुऔषध कारोबारमा नेपालीसहित तीन जना पक्राउ

आप्रवासन आप्रवासन

कुवेतमा लागुऔषध नियन्त्रणका लागि सञ्चालन गरिएको छुट्टाछुट्टै प्रहरी कारबाहीमा दुई नेपाली नागरिकसहित तीन जना विदेशी पक्राउ परेका छन्। पक्राउ पर्नेमा एक जना बंगलादेशी र दुई जना नेपाली नागरिक रहेका छन्। उनीहरूबाट ठूलो परिमाणमा प्रतिबन्धित मानिने कृत्रिम लागुऔषध ‘केमिकल’ बरामद गरिएको कुवेतको सञ्चारमाध्यम अरब टाइम्सले जनाएको छ।

कुवेतको लागुऔषध नियन्त्रण विभागले लागुऔषधको ओसारपसार तथा प्रयोगविरुद्ध सञ्चालन गरेको दुईवटा छुट्टाछुट्टै कारबाहीका क्रममा उनीहरूलाई पक्राउ गरेको हो। दुवै घटनामा तरल अवस्थामा रहेको कृत्रिम लागुऔषध र उक्त पदार्थमा भिजाइएका कागज बरामद गरिएको छ।

पहिलो कारबाहीमा कुवेतको अल रिहाब क्षेत्रमा एक जना बंगलादेशी नागरिक पक्राउ परेका थिए। प्रहरीले उनको साथबाट तरल कृत्रिम लागुऔषधमा भिजाइएका कागज बरामद गरेको जनाएको छ।

त्यसैगरी, कुवेतको भन्सार प्रशासनसँगको समन्वयमा अल दाजिज क्षेत्रमा गरिएको अर्को कारबाहीमा दुई जना नेपाली नागरिक पक्राउ परेका हुन्। उनीहरू एक ढुवानी कम्पनीमार्फत आएको सामान बुझ्न पुगेका बेला प्रहरीले नियन्त्रणमा लिएको अरब टाइम्सले उल्लेख गरेको छ।

प्रहरीले उक्त सामान जाँच गर्ने क्रममा कन्टेनरभित्र कृत्रिम लागुऔषध मिसाइएको तेल फेला पारेको थियो। त्यसपछि गरिएको थप खानतलासीमा पक्राउ परेका नेपाली नागरिकको साथमा र उनीहरूले प्रयोग गरेको सवारीसाधनभित्र समेत लागुऔषधमा भिजाइएका कागज फेला परेको बताइएको छ।

कुवेतको गृह मन्त्रालयका अनुसार अनुसन्धानका क्रममा दुवै नेपालीले बरामद भएका लागुऔषध तस्करी तथा व्यक्तिगत प्रयोगका लागि ल्याएको स्वीकार गरेका छन्।

दुवै घटनामा गरी कुल ६.७ किलोग्राम कृत्रिम ‘केमिकल’ लागुऔषध तेलका रूपमा बरामद गरिएको छ। यसका साथै लागुऔषध मिसाइएको कागजसमेत प्रहरीले नियन्त्रणमा लिएको छ। कुवेत टाइम्सको विवरणअनुसार बरामद गरिएको लागुऔषध तेल १२ वटा बोतलमा राखिएको थियो भने लागुऔषधमा भिजाइएका कागजको संख्या ९२ रहेको छ।

पक्राउ परेका तीनै जना विदेशी नागरिक र बरामद गरिएका लागुऔषधलाई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको कुवेतको गृह मन्त्रालयले जनाएको छ।

कुवेत सरकारले लागुऔषधको कारोबार, ओसारपसार तथा प्रयोग नियन्त्रण गर्न सुरक्षा निगरानी र कारबाहीलाई निरन्तरता दिँदै आएको छ। पछिल्लो घटनामा दुई नेपाली नागरिक पक्राउ परेसँगै कुवेतमा रहेका नेपाली श्रमिक तथा अन्य नेपाली समुदायलाई समेत यस घटनाले सचेत गराएको छ।

स्रोत : Arab Times, Kuwait Times