रियाद। साउदी अरबले आवासीय अनुमति, श्रम कानुन तथा सीमा सुरक्षा नियम उल्लंघन गर्ने विदेशी नागरिकविरुद्धको कारबाहीलाई तीव्र बनाएको छ। साउदी अरबभर सञ्चालन गरिएको एक साताको सुरक्षा तथा निरीक्षण अभियानका क्रममा करिब १२ हजार विदेशी नागरिक पक्राउ परेका छन् भने ११ हजार ४१८ जनालाई देशनिकाला गरिएको छ।
साउदी अरबको गृह मन्त्रालयका अनुसार सन् २०२६ नोभेम्बर ५ देखि ११ सम्म सञ्चालन गरिएको संयुक्त सुरक्षा तथा निरीक्षण अभियानका क्रममा विभिन्न कानुन उल्लंघन गरेको आरोपमा ११ हजार ९५२ जना पक्राउ परेका हुन्। शनिबार, नोभेम्बर १४ मा मन्त्रालयले सार्वजनिक गरेको विवरणलाई उद्धृत गर्दै गल्फ न्युजले नोभेम्बर १५ मा यसबारे समाचार प्रकाशित गरेको छ।
पक्राउ पर्नेहरूमध्ये ६ हजार १६३ जनाले आवासीय अनुमति (इकामा) सम्बन्धी नियम उल्लंघन गरेका थिए। त्यस्तै, ३ हजार २२५ जनाले सीमा सुरक्षा सम्बन्धी कानुन र २ हजार ५६४ जनाले श्रम कानुन उल्लंघन गरेको पाइएको मन्त्रालयले जनाएको छ।
सोही अवधिमा अवैध रूपमा साउदी अरब प्रवेश गर्ने प्रयास गरिरहेका १ हजार ६५३ जना पक्राउ परेका छन्। त्यस्तै, गैरकानुनी रूपमा साउदी अरबबाट बाहिरिने प्रयास गरेको आरोपमा २९ जना पक्राउ परेका छन्।
यसका अतिरिक्त, आवासीय अनुमति, श्रम तथा सीमा सुरक्षा सम्बन्धी नियम उल्लंघन गर्ने व्यक्तिलाई यातायात सुविधा उपलब्ध गराउने, आश्रय दिने वा रोजगारी प्रदान गर्ने कार्यमा संलग्न रहेको आरोपमा १५ जनालाई समेत प्रहरीले पक्राउ गरेको छ।
४० हजारभन्दा बढी विदेशी नागरिकमाथि कानुनी प्रक्रिया
साउदी गृह मन्त्रालयका अनुसार हाल विभिन्न नियम उल्लंघन गरेको आरोपमा ४० हजार ७६२ जना विदेशी नागरिक कानुनी प्रक्रियामा रहेका छन्। उनीहरूमध्ये ३८ हजार ३८३ जना पुरुष र २ हजार ३७९ जना महिला छन्।
पक्राउ परेका तथा नियम उल्लंघन गरेको पाइएका व्यक्तिमध्ये २२ हजार ४५१ जनालाई आवश्यक यात्रा कागजात प्राप्त गर्न सम्बन्धित देशका दूतावास तथा कूटनीतिक नियोगमा पठाइएको छ। त्यस्तै, ९ हजार ८०० जनालाई स्वदेश फर्किने यात्रा व्यवस्थापन पूरा गर्न सम्बन्धित प्रक्रियामा पठाइएको मन्त्रालयले जनाएको छ।
यस अवधिमा ११ हजार ४१८ जना विदेशी नागरिकलाई भने साउदी अरबबाट देशनिकाला गरिसकिएको छ।
सहयोग गर्नेलाई १५ वर्षसम्म कैद र १० लाख रियाल जरिवाना
साउदी अरबको गृह मन्त्रालयले गैरकानुनी रूपमा देश प्रवेश गर्न सहयोग गर्ने, अवैध रूपमा बसेका व्यक्तिलाई एक स्थानबाट अर्को स्थानमा लैजाने, आश्रय दिने वा अन्य कुनै किसिमको सहयोग तथा सेवा उपलब्ध गराउने व्यक्तिलाई कडा कारबाही हुने चेतावनी दिएको छ।
यस्ता गतिविधिमा संलग्न प्रमाणित हुने व्यक्तिलाई अधिकतम १५ वर्षसम्म कैद र १० लाख साउदी रियालसम्म जरिवाना हुन सक्ने मन्त्रालयले जनाएको छ। गैरकानुनी रूपमा बसेका व्यक्तिलाई ओसारपसार गर्न प्रयोग गरिएका सवारीसाधन तथा उनीहरूलाई आश्रय दिन प्रयोग गरिएका घर वा सम्पत्तिसमेत जफत हुन सक्ने व्यवस्था रहेको छ।
साउदी सरकारले आवासीय अनुमति, श्रम कानुन र सीमा सुरक्षा सम्बन्धी नियम कार्यान्वयन गराउन देशभर संयुक्त निरीक्षण तथा सुरक्षा अभियान सञ्चालन गर्दै आएको छ।
पछिल्लो अभियानको विवरणले साउदी अरबमा आवासीय अनुमति र श्रम कानुन उल्लंघन गर्ने विदेशी नागरिकमाथि सरकारी निगरानी तथा कारबाही निरन्तर भइरहेको देखाउँछ। साउदी अरबमा ठूलो संख्यामा नेपाली श्रमिक कार्यरत रहेकाले त्यहाँ रहेका नेपालीले पनि आफ्नो इकामा, काम गर्ने अनुमति तथा रोजगारीसम्बन्धी कानुनी अवस्था सही राख्न आवश्यक देखिन्छ।