सन् १९०० को सुरुवाती दशकमा स्वतन्त्र विचार राख्ने लेखक, कलाकार र बुद्धिजीवीहरूको एउटा सानो समूह लन्डनको ब्लुम्सबरी क्षेत्रमा भेला हुन थालेको थियो । यस समूहमा चर्चित लेखिका भर्जिनिया वुल्फ, उनकी बहिनी तथा कलाकार भेनेसा बेल र पछि अर्थशास्त्री जोन मेनार्ड केन्स तथा लेखक ईएम फोस्र्टर पनि आबद्ध भए ।
‘ब्लुम्सबरी समूह’का सदस्यहरूले समलैंगिकता र बहुप्रेम सम्बन्धलाई स्वीकार गरेका थिए । उनीहरू आफूलाई आधुनिक र बढी खुला सोच भएको बेलायत निर्माण गर्ने प्रयोगधर्मी अगुवाका रूपमा हेर्थे । उनीहरूको जीवनशैलीबारे अमेरिकी व्यङ्ग्यकार डोरोथी पार्करको भनाइ चर्चित छ, ‘उनीहरू वर्गाकार घरमा बस्थे, वृत्ताकार चित्र बनाउँथे र त्रिकोणात्मक प्रेम गर्थे ।’
नयाँ प्रयोग गर्न रुचाउने यस समूहले साहित्य, जीवनशैली र कलामा नवीन दृष्टिकोण प्रस्तुत गरेको थियो । विशेषगरी उनीहरूको अमूर्त कला, चम्किला रङ तथा साहसी शैलीले बेलायती कला क्षेत्रमा नयाँ प्रभाव पारेको थियो । यसको जीवन्त उदाहरण ससेक्सस्थित चाल्र्सटन नामक फार्महाउस हो । त्यहाँ बस्ने भेनेसा बेल र कलाकार डन्कन ग्रान्टले घरका भित्ता, फर्निचर र कपडाका सामग्रीलाई समेत कलात्मक सिर्जनाको माध्यम बनाएका थिए ।
कला र व्यक्तिगत सम्बन्धको अनौठो मेल
भेनेसा बेल र डन्कन ग्रान्टबीच पाँच दशकभन्दा लामो सिर्जनात्मक तथा कहिलेकाहीँ प्रेमपूर्ण सम्बन्ध थियो । भेनेसा कला समीक्षक क्लाइभ बेलसँग खुला वैवाहिक सम्बन्धमा थिइन् भने डन्कन समलैंगिक थिए ।
लन्डनस्थित टेट ब्रिटेनमा आयोजित ‘भेनेसा बेल एन्ड डन्कन ग्रान्ट : इनसाइड ब्लुम्सबरी’ शीर्षकको प्रदर्शनीमा उनीहरूका तीन सयभन्दा बढी चित्रकला, माटाका भाँडा, कपडाका डिजाइन र सजावट गरिएका फर्निचर राखिएका छन् ।
प्रदर्शनीको एउटा आकर्षण उनीहरूको चाल्र्सटनस्थित कला स्टुडियोको पुनर्निर्माण पनि हो । त्यस्तै, उनीहरूले संयुक्त रूपमा बनाएको ५० थान हातले चित्रित ‘फेमस विमेन डिनर सर्भिस’ पनि प्रदर्शनीमा राखिएको छ । प्रदर्शनीका सहक्युरेटर थोमस केनेडीका अनुसार उनीहरूले यति नजिक रहेर सहकार्य गरेका थिए कि प्रत्येक प्लेटमा कसले चित्र बनाएको हो भनेर छुट्याउनसमेत कठिन हुन्छ ।
ब्लुम्सबरी समूहको इतिहासमा एउटा गम्भीर पारिवारिक रहस्य पनि लुकेको थियो । डन्कन ग्रान्टले सन् १९२१ देखि १९२३ को बीचमा बनाएको ‘द ह्यामक, चाल्र्सटन’ नामक चित्रमा भेनेसा बेल आफ्ना छोराछोरी र उनीहरूका शिक्षकसँग देखिन्छिन् ।
तर, यस समूहको अर्को अँध्यारो पक्ष पनि थियो । उच्च मध्यमवर्गीय पृष्ठभूमिका सदस्यहरू आफ्नै सीमित घेराभित्र रमाउने गरेको भन्दै उनीहरूमाथि अभिजात्यवाद र घमण्डी व्यवहारको आरोप लाग्ने गरेको थियो ।
लेखक विन्डहम लुइसले सन् १९३० मा प्रकाशित आफ्नो उपन्यास ‘द एप्स अफ गड’मा ब्लुम्सबरी समूहको सामाजिक राजनीति र आफ्नै रुचिलाई उत्कृष्ट ठान्ने प्रवृत्तिमाथि व्यङ्ग्य गरेका थिए ।
त्यस्तै, भर्जिनिया वुल्फका डायरी र पत्राचारमा देखिएको यहुदीविरोधी सोचको पनि आलोचना हुँदै आएको छ । उनका श्रीमान् लियोनार्ड वुल्फ भने यहुदी थिए । केही आलोचकका दृष्टिमा प्रगतिशील परिवर्तनको कुरा गर्ने समूहका सदस्यहरू आफैँ विरोधाभासपूर्ण जीवन बाँचिरहेका थिए । सन् २००७ मा प्रकाशित पुस्तक ‘मिसेस वुल्फ एन्ड द सर्भेन्ट्स’मा एलिसन लाइटले भर्जिनिया आफ्ना घरेलु कामदारहरूमाथि निर्भर रहेको तथ्यले उनलाई र उनकी बहिनीलाई स्वतन्त्र तथा परम्पराविरोधी महिलाका रूपमा सहजै प्रशंसा गर्न कठिन हुने बताएकी छन् ।
पारिवारिक सुखको चित्रभित्र लुकेको ठूलो छल
ब्लुम्सबरी समूहको इतिहासमा एउटा गम्भीर पारिवारिक रहस्य पनि लुकेको थियो । डन्कन ग्रान्टले सन् १९२१ देखि १९२३ को बीचमा बनाएको ‘द ह्यामक, चाल्र्सटन’ नामक चित्रमा भेनेसा बेल आफ्ना छोराछोरी र उनीहरूका शिक्षकसँग देखिन्छिन् । चित्रले एउटा सुखी पारिवारिक वातावरण प्रस्तुत गर्छ । तर, त्यसको पछाडि वयस्क सदस्यहरूले बालबालिकाबाट लुकाएको एउटा ठूलो सत्य थियो ।
भेनेसाकी कान्छी छोरी एन्जेलिका क्लाइभ बेलकी सन्तानका रूपमा हुर्किएकी थिइन् । तर, उनका वास्तविक जैविक पिता डन्कन ग्रान्ट थिए । सन् २०२६ मा प्रकाशित ‘भेनेसा बेल एन्ड चाल्र्सटनः मदरहुड, क्वियरनेस एन्ड द डोमेस्टिक इम्याजिनेसन’ पुस्तकका लेखक डा. जोन किङका अनुसार डन्कनले उक्त चित्रलाई सुखी पारिवारिक जीवनको झल्को दिने गरी बनाएका थिए । तर, चित्रमा सबै सदस्य एउटै ठाउँमा भए पनि प्रत्येक पात्र अलग्गै रहेको अनुभूति हुन्छ ।

चित्रको दायाँपट्टि एन्जेलिका आफ्नै बाटोमा हिँडिरहेकी देखिन्छिन् । उनी आफ्नो खेलौना कुकुरलाई डोर्याउँदै अघि बढिरहेकी छन् । एन्जेलिकालाई १८ वर्षको उमेरमा उनको वास्तविक पितृत्वबारे बताइएको थियो । तर, त्यसपछि यस विषयमा कहिल्यै कुरा नगर्न उनलाई निर्देशन दिइयो ।
उनले सन् १९८४ मा प्रकाशित आफ्नो आत्मकथा ‘डिसिभ्ड विथ काइन्डनेस’मार्फत यो रहस्य सार्वजनिक गरिन् । उक्त पुस्तकले ब्लुम्सबरी समूह स्वतन्त्र र खुला विचार भएको आदर्श समूह थियो भन्ने धारणामाथि प्रश्न उठायो । उनले आफू हुर्किएको वातावरणलाई ‘जोखिमपूर्ण स्वर्ग’का रूपमा वर्णन गर्दै परिवारले लुकाएको झुटले आफ्नो जीवनमा गहिरो भावनात्मक असर पारेको उल्लेख गरेकी छन् ।
डा. किङका अनुसार एन्जेलिकालाई क्लाइभ बेलकै छोरीका रूपमा हुर्काउनुको मुख्य कारण सामाजिक मर्यादा कायम राख्नु र क्लाइभ बेलको परिवारबाट उनको उत्तराधिकार सुरक्षित गर्नु थियो ।
एन्जेलिकाले आफ्नो आत्मकथामा लेखेकी छन्, ‘यस छलको सबैभन्दा आश्चर्यजनक पक्ष भनेको यो परम्परागत सामाजिक मान्यताअनुसार गरिएको थियो ।’
व्यक्तिगत जीवनभन्दा ठूलो कलात्मक योगदान
डा. किङका अनुसार ब्लुम्सबरी समूहको पारिवारिक व्यवस्थालाई आजको दृष्टिकोणबाट मात्रै हेर्दा त्यस समयको सामाजिक वास्तविकता बुझ्न कठिन हुन्छ । अहिले समलैंगिक तथा वैकल्पिक परिवारका विभिन्न स्वरूप स्वीकार्य हुँदै गएका छन् । तर, त्यतिबेला बेलायतमा समलैंगिक यौन सम्बन्धसमेत गैरकानुनी थियो ।
प्रदर्शनीका सहक्युरेटर थोमस केनेडीका अनुसार ब्लुम्सबरी समूहका सदस्यहरूको निजी जीवनलाई लिएर हुने सनसनीपूर्ण चर्चाले उनीहरूको वास्तविक कलात्मक योगदानलाई ओझेलमा पार्ने गरेको छ । उनका अनुसार भेनेसा र डन्कनले बेलायतमा ‘पोस्ट–इम्प्रेसनिस्ट’ कला भित्रियाउन तथा ललित कला र सजावटी कलाबीचको विभाजन हटाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । यसले बेलायती कलाको स्वरूप नै परिवर्तन गर्न सहयोग पुर्यायो ।
भेनेसाको कलासम्बन्धी एउटा महत्त्वपूर्ण मान्यता थियोः कला दैनिक जीवनको अभिन्न हिस्सा हुनुपर्छ । सन् १९३५–३६ तिर बनाएको ‘इन्टेरियर विथ द आर्टिस्ट्स डटर’ चित्रमा किशोरी एन्जेलिका पुस्तक पढिरहेको अवस्थामा देखिन्छिन् । उनी वरपरका कलात्मक कपडा र पुस्तकका पङ्क्तिसँग घुलमिल भएको देखिन्छ ।
एन्जेलिकाले उक्त स्टुडियोलाई आफ्नो जीवनका सबैभन्दा प्रिय समय बिताएको स्थलका रूपमा वर्णन गरेकी थिइन् ।
डा. किङका अनुसार भेनेसाले चाल्र्सटनमा बाहिरी संसारका समस्याबाट टाढा एउटा छुट्टै संसार निर्माण गरेकी थिइन् । त्यो संसार पूर्ण थिएन, तर त्यहाँ उनका छोराछोरीले असाधारण सिर्जनात्मक स्वतन्त्रता र शिक्षा प्राप्त गरेका थिए ।
प्रेम, सिर्जना र सम्बन्धभित्रका विरोधाभास
भेनेसा र डन्कनको घरका भित्ता र सजावटले उनीहरूको सम्बन्धको आत्मीयता पनि झल्काउँछन् । भेनेसाको पुरानो शयनकक्षमा अझै एउटा शिकारी कुकुरको चित्र देख्न सकिन्छ । डन्कनले भेनेसा सुत्दा उनको सुरक्षा गरिरहेको प्रतीकका रूपमा उक्त चित्र भित्तामा बनाएका थिए ।

टेट संग्रहालयमा सुरक्षित उनीहरूका पत्राचारले पनि गहिरो प्रेम र आत्मीयता झल्काउँछन् । भेनेसाले डन्कनलाई ‘माई डार्लिङ बियर’ भनेर सम्बोधन गरेकी छन् भने डन्कनले उनलाई ‘नेसा’ भन्ने गरेका थिए ।
उनीहरूको सिर्जनात्मक सहकार्य पनि उत्तिकै निकट थियो । सन् १९१४ मा भेनेसाले बनाएको ‘स्टिल लाइफ अन कर्नर अफ अ म्यान्टलपिस’ र डन्कनको ‘द म्यान्टलपिस’ चित्र सँगसँगै बनाइएका थिए ।
टेटका कला संरक्षण विशेषज्ञहरूले उनीहरूले एउटै रङका ट्युबसमेत प्रयोग गरेको पत्ता लगाएका थिए । तर, दुवैको चित्र बनाउने शैली फरक थियो । भेनेसाले चम्किला र गाढा रङका ठूला आकार प्रयोग गर्थिन् भने डन्कनले चित्रमा कागजका टुक्रा टाँस्ने कोलाज प्रविधिसमेत अपनाएका थिए ।
उनीहरूले एकअर्काका धेरै चित्र पनि बनाएका थिए । भेनेसाको मृत्युपछि सन् १९६१ मा डन्कनले पेन्सिल र बलपेनले बनाएको उनको एउटा चित्र यस शृङ्खलाको अन्तिम चित्र मानिन्छ । हालै फेला परेको उक्त चित्र अहिले चाल्र्सटनमा संरक्षणको प्रक्रियामा छ ।
तर, उनीहरूको सम्बन्ध पनि ब्लुम्सबरी समूहले अघि सारेका आदर्शअनुरूप सधैँ सहज थिएन । भेनेसाका आफ्नै प्रेम सम्बन्ध भए पनि डन्कनका केही साथी र प्रेमीप्रति उनी ईष्र्यालु हुने गर्थिन् । डन्कनको सन् १९११ मा बनाएको ‘बाथिङ’ नामक चित्रमा लहरयुक्त पानीमा पौडिरहेका बलिया पुरुषका नग्न आकृतिहरू देखिन्छन् । यसलाई उनका अप्रकट समलैंगिक इच्छाहरूको कलात्मक अभिव्यक्तिका रूपमा पनि व्याख्या गरिएको छ ।
सन् २०२० मा उनको ओछ्यानमुनि वर्षौंदेखि लुकाइएका चार सयभन्दा बढी समलैंगिक भाव झल्काउने चित्रहरू फेला परेका थिए । ती चित्रमा ‘अत्यन्त निजी’ भनेर उल्लेख गरिएको थियो । तीमध्ये केही अहिले प्रदर्शनीमा राखिएका छन् ।
बौद्धिक बहसमा हराएको भावनात्मक पक्ष
एन्जेलिकाका अनुसार ब्लुम्सबरी समूहका सदस्यहरूको बौद्धिक बहस र विचारप्रधान जीवनशैलीमा भावनाका लागि पर्याप्त ठाउँ थिएन । सन् १९१४ मा समूहका सदस्यहरूसँग पहिलोपटक भेटेका लेखक डीएच लरेन्सले उनीहरूको आलोचना गर्दै उनीहरूलाई ‘आफ्नै सानो संसारमा झुम्मिने मानिसहरू’ भनेका थिए ।
सन् १९१५ मा उनले लेखेका थिए, ‘यी युवाहरूले कुरा गरेको सुन्दा मलाई असाध्यै क्रोध उत्पन्न हुन्छ । उनीहरूमा एक क्षणका लागि पनि भावनात्मक अभिव्यक्ति देखिँदैन ।’
एन्जेलिकाले आफ्नो पितृत्वबारे लुकाइएको सत्यलाई आफ्नो असफल वैवाहिक जीवनको एउटा कारण मानेकी थिइन् । उनले आत्मकथामा लेखेकी छन्, ‘आदर्श पिताको मेरो अधुरो सपनाले मलाई निरन्तर पछ्याइरह्यो । मेरो विवाह पनि त्यही सपनाको निरन्तरता मात्र बन्यो ।’
यसको एउटा उदाहरण एन्जेलिकाको वैवाहिक जीवनमा पनि देखियो । जब एन्जेलिकाको लेखक डेभिड ‘बनी’ गार्नेटसँग प्रेम सम्बन्ध सुरु भयो, ब्लुम्सबरी समूहका सदस्यहरूले उनलाई एउटा महत्त्वपूर्ण तथ्य बताएनन् । उनका भावी पति बनी गार्नेटले विगतमा एन्जेलिकाकी आमा भेनेसालाई प्रेम प्रस्ताव गरेका थिए । उनी डन्कन ग्रान्टका पूर्वप्रेमीसमेत थिए ।
एन्जेलिकाको जन्म भएको केही समयपछि नै बनी गार्नेटले उनीसँग विवाह गर्ने इच्छा व्यक्त गरेका थिए । त्यसबेला एन्जेलिका २० वर्षकी हुँदा आफू ४६ वर्षको हुने उल्लेख गर्दै उनले एउटा पत्रमा लेखेका थिए, ‘के यो विवादास्पद हुनेछ ?’
पछि एन्जेलिकाले आफ्नो पितृत्वबारे लुकाइएको सत्यलाई आफ्नो असफल वैवाहिक जीवनको एउटा कारण मानेकी थिइन् । उनले आत्मकथामा लेखेकी छन्, ‘आदर्श पिताको मेरो अधुरो सपनाले मलाई निरन्तर पछ्याइरह्यो । मेरो विवाह पनि त्यही सपनाको निरन्तरता मात्र बन्यो ।’
आलोचनाबीच पनि कलात्मक विरासतको महत्त्व
सांस्कृतिक आलोचक क्रिस्टोफर रिडले ब्लुम्सबरी समूहको निरन्तर आलोचना गर्ने प्रवृत्तिलाई ‘ब्लुम्सबरी बासिङ’ नाम दिएका छन् । डा. किङका अनुसार समूहप्रतिको यस्तो आलोचनामा समलैंगिकताविरोधी सोच र महिलाप्रतिको पूर्वाग्रहले पनि भूमिका खेलेको छ ।
उनका दृष्टिमा भेनेसा र डन्कनको वास्तविक विरासत भनेको सिर्जनात्मक काममा डर नमान्नु र आफ्नो जीवनमा रङ तथा कलालाई खुला रूपमा अँगाल्नु हो । उनी स्वीकार गर्छन् कि ब्लुम्सबरी समूहलाई सीमित, विशेषाधिकार प्राप्त र आफ्नै घेराभित्र बस्ने समूहका रूपमा हेरिएको थियो । तर, त्यो उनीहरूको वास्तविक उद्देश्य थिएन । भित्ताका डिजाइनदेखि बेलायतका सुरुवाती पूर्ण अमूर्त चित्रकलासम्म उनीहरूको उद्देश्य सामान्य मानिसलाई पनि कला सिर्जना गर्न सकिन्छ भन्ने देखाउनु थियो ।
त्यसो त भेनेसाकी नातिनी भर्जिनिया निकोल्सन पनि आफ्नी हजुरआमा र डन्कनको मूल्यांकन गर्दा उनीहरूसँग सम्बन्धित मिथकभन्दा व्यक्तिगत स्मृतिलाई बढी महत्त्व दिन्छिन् । उनका अनुसार कलाकारका रूपमा उनीहरू न त आडम्बरी थिए, न त अनावश्यक रूपमा विचारधारामा बाँधिएका वा घमण्डी नै । उनी भन्छिन्, ‘मेरो विचारमा उनीहरू वरपरको संसारलाई प्रत्यक्ष रूपमा आत्मसात् गर्ने मानिस थिए र उनीहरूले मानिसलाई आनन्द दिने कला सिर्जना गरे ।’