मलेसियामा कार्यरत नेपालीसहित विदेशी श्रमिकलाई काम गर्ने समयबाहेक पनि दुर्घटनाबाट हुने जोखिममा सामाजिक सुरक्षा उपलब्ध गराउने नयाँ व्यवस्था लागू भएको छ। मलेसियाको सामाजिक सुरक्षा संस्था (पर्केसो) ले ‘लिन्डुङ २४ जाम’ (LINDUNG 24 JAM) नामक योजना लागू गर्दै श्रमिकलाई काममा रहँदा मात्र नभई बिदा, सार्वजनिक बिदा तथा कामबाहिरको समयमा हुने दुर्घटनाबाट समेत सुरक्षा प्रदान गर्ने व्यवस्था गरेको हो।
न्यु स्ट्रेट्स टाइम्सका अनुसार सन् २०२६ जुन १ देखि लागू भएको यस योजनाबाट सुरुवाती चरणमा मलेसियाको कर्मचारी सामाजिक सुरक्षा ऐनअन्तर्गत योगदान गर्दै आएका ९० लाखभन्दा बढी श्रमिक स्वतः समेटिएका थिए। यसका लागि रोजगारदाता वा श्रमिकले छुट्टै नयाँ दर्ता गर्नुपर्ने व्यवस्था गरिएको थिएन। नयाँ नियुक्त हुने श्रमिकलाई भने रोजगारदाताले पर्केसोको विद्यमान प्रणालीमार्फत अनिवार्य दर्ता गराउनुपर्ने व्यवस्था गरिएको थियो।
मलेसियाका मानव संसाधनमन्त्री आर. रामाननका अनुसार यस योजनाले श्रमिकको सामाजिक सुरक्षा कार्यस्थलमा हुने दुर्घटनामा मात्र सीमित नराखी दैनिक जीवनमा हुन सक्ने दुर्घटनासम्म विस्तार गरेको छ। यसअघि कामसँग प्रत्यक्ष सम्बन्ध नभएका दुर्घटनामा श्रमिकले पर्याप्त सामाजिक सुरक्षा सुविधा नपाउने अवस्था रहेकाले नयाँ व्यवस्था ल्याइएको हो।
विदेशी श्रमिकका लागि अनिवार्य, तलबबाट ०.७५ प्रतिशत योगदान
योजना सुरु हुँदा योगदान दर मासिक तलबको ०.७५ प्रतिशत निर्धारण गरिएको थियो। यो रकम श्रमिकको तलबबाट कटौती हुने व्यवस्था गरिएको छ। योगदान गणनाका लागि मासिक तलबको अधिकतम सीमा ६ हजार मलेसियन रिंगिट तोकिएको छ। रोजगारदाताले श्रमिकको तलबबाट रकम कटौती गरी प्रत्येक महिना पर्केसोमा बुझाउनुपर्ने व्यवस्था छ।
सुरुमा सबै औपचारिक क्षेत्रका श्रमिकलाई स्वतः समेट्ने गरी योजना लागू गरिएको थियो। तर सार्वजनिक प्रतिक्रियापछि मलेसियाको मन्त्रिपरिषद्ले सन् २०२६ जुलाई ८ देखि स्थानीय श्रमिकका लागि यस योजनामा सहभागिता स्वैच्छिक बनाएको छ। विदेशी श्रमिकका हकमा भने योगदान अनिवार्य नै राखिएको छ।
यसको अर्थ मलेसियामा वैध कार्य अनुमति लिएर रोजगारदाताअन्तर्गत काम गरिरहेका नेपालीसहित विदेशी श्रमिकले पनि लिन्डुङ २४ जाम योजनामा अनिवार्य योगदान गर्नुपर्नेछ। विदेशी श्रमिकको हकमा रोजगारदाताले पर्केसोमा दर्ता गराउने र श्रमिकको तलबबाट निर्धारित योगदान कटौती गरी बुझाउने जिम्मेवारी पाएका छन्।
पर्केसोको पछिल्लो व्यवस्थाअनुसार यस योजनाको योगदान पहिलो दुई वर्ष अर्थात् सन् २०२६ जुन १ देखि २०२८ मे ३१ सम्म ०.७५ प्रतिशत रहनेछ। त्यसपछि सन् २०२८ जुनदेखि २०३१ मेसम्म १ प्रतिशत र सन् २०३१ जुनदेखि १.२५ प्रतिशत पुर्याउने चरणबद्ध व्यवस्था गरिएको छ।
दुर्घटना भएमा आठ प्रकारका सुविधा
लिन्डुङ २४ जाम योजनाअन्तर्गत श्रमिकलाई दुर्घटनापछि उपचारदेखि पुनः रोजगारीमा फर्किने प्रक्रियासम्म सहयोग गर्ने व्यवस्था गरिएको छ। यस योजनामा चिकित्सा सुविधा, अस्थायी अशक्तता भत्ता, स्थायी अशक्तता भत्ता र आश्रित परिवारका सदस्यलाई उपलब्ध गराइने सुविधा समावेश छन्।
त्यस्तै, निरन्तर हेरचाह आवश्यक पर्ने श्रमिकका लागि विशेष भत्ता, मृत्यु भएमा अन्त्येष्टि खर्च, शारीरिक पुनःस्थापना, व्यावसायिक पुनःस्थापना तथा पुनःकाममा फर्काउने कार्यक्रम र शिक्षा सुविधा पनि उपलब्ध गराइनेछ।
यस व्यवस्थाले कामबाहिर दुर्घटनामा परेका श्रमिकको उपचार खर्च र दुर्घटनाका कारण काम गर्न नसक्ने अवस्थाबाट उत्पन्न आर्थिक जोखिम कम गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ। श्रमिकको मृत्यु भएको अवस्थामा आश्रित परिवारलाई समेत सामाजिक सुरक्षा उपलब्ध गराउने व्यवस्था गरिएको छ।
नेपाली श्रमिकले के कुरामा ध्यान दिने ?
मलेसिया नेपाली श्रमिकको प्रमुख वैदेशिक रोजगार गन्तव्य मुलुकमध्ये एक हो। त्यहाँ उत्पादनमूलक उद्योग, निर्माण, सेवा, सुरक्षा तथा अन्य क्षेत्रमा ठूलो संख्यामा नेपाली कार्यरत छन्। नयाँ योजनाले कामको समयमा मात्र नभई व्यक्तिगत समय र बिदाका दिनमा हुने दुर्घटनाबाट पनि विदेशी श्रमिकलाई सुरक्षा प्रदान गर्ने भएकाले नेपाली श्रमिकका लागि महत्त्वपूर्ण मानिएको छ।
तर यो सुविधा प्राप्त गर्न विदेशी श्रमिकले मलेसियामा कानुनी रूपमा प्रवेश गरेको, वैध राहदानी तथा कार्य अनुमति भएको र पर्केसोमा दर्ता भएको रोजगारदातासँग औपचारिक रोजगार सम्बन्ध कायम भएको हुनुपर्छ। स्वतन्त्र रूपमा काम गर्ने वा रोजगारदाता–श्रमिक सम्बन्ध नरहेको व्यक्तिलाई यस योजनाअन्तर्गत समेटिने छैन।
पर्केसोको व्यवस्थाअनुसार विदेशी श्रमिकको योगदान अनिवार्य रहेको छ। रोजगारदाताले श्रमिकलाई दर्ता नगरेको वा तोकिएको योगदान नबुझाएको अवस्थामा कानुनी कारबाही हुन सक्छ। यस्तो कसुरमा दोषी ठहरिएमा रोजगारदातालाई अधिकतम १० हजार रिंगिट जरिवाना वा दुई वर्षसम्म कैद अथवा दुवै सजाय हुन सक्ने व्यवस्था छ।
यस योजनाबाट सुविधा लिनुपर्ने अवस्था आएमा श्रमिकले अनलाइनमार्फत लिन्डुङ फाइदाह (LINDUNG Faedah) पोर्टल वा नजिकैको पर्केसो कार्यालयमा सम्पर्क गरेर दाबी प्रक्रिया अघि बढाउन सक्छन्।
मलेसियामा कार्यरत नेपाली श्रमिकले आफ्नो पर्केसो दर्ता भएको छ कि छैन, तलबबाट नियमित योगदान कटौती भइरहेको छ कि छैन र रोजगारदाताले रकम सम्बन्धित निकायमा बुझाएको छ कि छैन भन्ने विषयमा जानकारी राख्नु आवश्यक छ।