नेपाली समाज भारतले भारतस्थित नेपाली नागरिकका हक–अधिकार, सुरक्षा, सामाजिक संरक्षण तथा नेपाल–भारत सम्बन्ध सुदृढीकरणका लागि १० बुँदे मागसहित नेपाली राजदूतावास, नयाँ दिल्लीमा ज्ञापनपत्र बुझाएको छ ।
समाजका केन्द्रीय सहसंयोजक आरबी खड्काले भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डेलाई सम्बोधन गरी ज्ञापनपत्र प्रस्तुत गरेका हुन् ।
ज्ञापनपत्रमा भारतमा बसोबास गर्ने नेपाली नागरिकले पहिचान, आधारकार्ड, बैंकिङ सेवा, शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा, यात्रा तथा सीमा क्षेत्रमा भोगिरहेका समस्या समाधान गर्न कूटनीतिक पहल गर्न आग्रह गरिएको छ ।
भारतमा लाखौँ नेपाली नागरिक रोजगारी, व्यापार, व्यवसाय, शिक्षा तथा विभिन्न पेसामा संलग्न रहेको उल्लेख गर्दै समाजले उनीहरूले श्रम, सीप र आर्थिक योगदानमार्फत दुवै देशको सामाजिक तथा आर्थिक जीवनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको जनाएको छ । तर, दैनिक जीवनका आधारभूत सेवा प्राप्त गर्नसमेत नेपाली नागरिकले विभिन्न प्रशासनिक तथा कानुनी जटिलता सामना गर्नुपरेको समाजको भनाइ छ ।
ज्ञापनपत्रमा नेपाल–भारतबिचको ऐतिहासिक सम्बन्ध, खुला सीमा, पारिवारिक सम्बन्ध तथा सन् १९५० को शान्ति तथा मैत्री सन्धिको भावनाअनुरूप भारतमा बसोबास गर्ने नेपाली नागरिकको आवागमन, रोजगारी, पेसा, व्यवसाय र सम्मानपूर्वक जीवनयापन गर्ने अधिकारको संरक्षण गर्न माग गरिएको छ ।
भारतमा आधारकार्ड बनाउन आवश्यक पर्ने १८२ दिनको बसोबास प्रमाण, स्थानीय ठेगाना तथा अन्य कागजातसम्बन्धी प्रक्रियाका कारण नेपालीले भोग्नुपरेका कठिनाइ समाधान गर्न भारतीय सम्बन्धित निकायसँग कूटनीतिक पहल गर्न समाजले आग्रह गरेको छ । आधारकार्डलगायतका कागजातका कारण बैंक खाता खोल्न, सवारी चालक अनुमतिपत्र लिन, विद्यालय तथा अस्पतालमा सेवा प्राप्त गर्न र अन्य प्रशासनिक काम गर्न समस्या भइरहेको ज्ञापनपत्रमा उल्लेख छ ।
त्यस्तै, दैनिक आवश्यक सेवा प्राप्त गर्न कागजात बनाउँदा नेपाली नागरिकमाथि दोहोरो नागरिकताको आशंका गर्ने, पक्राउ गर्ने, अनावश्यक सोधपुछ गर्ने वा कानुनी झन्झटमा पार्ने घटनाको समाधान खोज्न माग गरिएको छ । यस्ता समस्यामा परेका नेपालीलाई राजदूतावासमार्फत कानुनी परामर्श, सहयोग तथा कूटनीतिक संरक्षण उपलब्ध गराउन समाजले आग्रह गरेको छ ।
भारतमा अध्ययनरत नेपाली विद्यार्थीले भर्ना, शुल्क, छात्रवृत्ति तथा प्रमाणपत्रसम्बन्धी प्रक्रियामा भोगिरहेका समस्या समाधान गर्न पनि ज्ञापनपत्रमा माग गरिएको छ । स्वास्थ्य उपचारका लागि भारत आउने नेपाली बिरामीले सहज र सम्मानजनक सेवा पाउने व्यवस्था गर्न तथा विपन्न विद्यार्थी र आर्थिक रूपमा कमजोर बिरामीलाई आवश्यक सहयोग उपलब्ध गराउन पहल गर्नुपर्ने समाजको भनाइ छ ।
भारतका विभिन्न उद्योग, कलकारखाना, होटल, निर्माण क्षेत्र, घरेलु काम तथा कृषि क्षेत्रमा कार्यरत नेपाली श्रमिकले न्यून पारिश्रमिक, समयमै ज्याला नपाउने, श्रम शोषण र दुर्घटनापछि क्षतिपूर्ति नपाउनेजस्ता समस्या भोगिरहेको उल्लेख गर्दै श्रमिकको उचित पारिश्रमिक, सुरक्षित कार्यस्थल र कानुनी संरक्षण सुनिश्चित गर्न माग गरिएको छ ।
यात्रा तथा सीमा क्षेत्रमा नेपाली नागरिकले भोग्ने लुटपाट, ठगी, दुर्व्यवहार र अनावश्यक रोकतोक नियन्त्रण गर्न तथा महिला, बालबालिका र वृद्धवृद्धाको सुरक्षा सुनिश्चित गर्न पनि समाजले आग्रह गरेको छ । मानव बेचबिखन, शोषण तथा आपराधिक गतिविधि नियन्त्रण गर्न दुवै देशका सुरक्षा निकायबिच समन्वय र सहकार्य विस्तार गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख छ ।
यसैगरी, भारतमा व्यापार, व्यवसाय तथा स्वरोजगारमा संलग्न नेपाली व्यवसायीले दर्ता, बैंकिङ, कर र स्थानीय प्रशासनसम्बन्धी प्रक्रियामा भोगिरहेका समस्याको समाधान गर्न माग गरिएको छ । नेपाली व्यवसायीलाई सहजीकरण गर्नुका साथै नेपालमा लगानी गर्ने भारतीय व्यवसायीको लगानी तथा सम्पत्तिको सुरक्षा सुनिश्चित गर्न पनि समाजले आग्रह गरेको छ ।
ज्ञापनपत्रमा प्रवासी नेपाली नागरिकको नेपालको निर्वाचनमा मतदान गर्ने अधिकार व्यावहारिक रूपमा सुनिश्चित गर्न, नेपाली भाषा, संस्कृति, कला, साहित्य तथा सामाजिक पहिचानको संरक्षण गर्न र नयाँ पुस्तालाई मातृभूमिसँग जोड्ने कार्यक्रम सञ्चालन गर्न पनि माग गरिएको छ ।
नेपाल–भारतबिच व्यापार, पर्यटन, कृषि, उद्योग, ऊर्जा, शिक्षा, स्वास्थ्य तथा रोजगारीका क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्ने उल्लेख गर्दै समाजले प्रवासी नेपालीका समस्या समाधानका लागि राजदूतावासमा स्थायी सहायता तथा समन्वय संयन्त्र स्थापना गर्न आग्रह गरेको छ ।
नेपाली समाज भारत सन् १९७९ देखि प्रवासी नेपालीको हकहित, सामाजिक सुरक्षा, एकता, आपसी सहयोग तथा सामाजिक न्यायका क्षेत्रमा क्रियाशील रहेको ज्ञापनपत्रमा उल्लेख छ । समाजले भारतस्थित नेपाली समुदायका साझा समस्या समाधानका लागि राजदूतावाससँग निरन्तर संवाद, सहकार्य र समन्वय गर्न तयार रहेको जनाएको छ ।