साउदी अरबमा एक सातामै करिब १४ हजार विदेशी देशनिकाला

आप्रवासन आप्रवासन

साउदी अरबले आवासीय अनुमति, श्रम कानुन तथा सीमा सुरक्षा नियम उल्लङ्घन गर्ने विदेशी नागरिकमाथि कारबाही तीव्र पारेको छ। पछिल्लो एक सातामा सञ्चालन गरिएका सुरक्षा अभियानका क्रममा १३ हजार ९३५ जना विदेशी नागरिकलाई देशनिकाला गरिएको छ। यसै अवधिमा नियम उल्लङ्घन गरेको आरोपमा ९ हजार १६९ जना पक्राउ परेका छन्।

साउदी अरबको गृह मन्त्रालयले नोभेम्बर २८ मा सार्वजनिक गरेको विवरणअनुसार देशभर सञ्चालन गरिएका संयुक्त सुरक्षा तथा निरीक्षण अभियानका क्रममा उनीहरू पक्राउ परेका हुन्। पक्राउ पर्नेमा ४ हजार ७९७ जना आवासीय अनुमति (इकामा) सम्बन्धी नियम उल्लङ्घन गर्ने, २ हजार ६२३ जना सीमा सुरक्षा नियम उल्लङ्घन गर्ने र १ हजार ७४९ जना श्रम कानुन उल्लङ्घन गर्ने व्यक्ति रहेका छन्।

त्यस्तै, साउदी अरबको सीमा हुँदै अवैध रूपमा प्रवेश गर्न खोज्ने १ हजार ३७३ जना र अवैध रूपमा बाहिरिन खोज्ने २१ जना पक्राउ परेका छन्। आवासीय अनुमति, श्रम तथा सीमा सुरक्षा नियम उल्लङ्घन गर्ने व्यक्तिलाई ओसारपसार गर्ने, आश्रय दिने, रोजगारी उपलब्ध गराउने वा लुकाउने कार्यमा संलग्न रहेको आरोपमा थप २३ जना पनि पक्राउ परेका छन्।

मन्त्रालयका अनुसार हाल साउदी अरबमा ३८ हजार ४८३ जना विदेशी नागरिक कानुनी प्रक्रियाको चरणमा छन्। उनीहरूमध्ये ३६ हजार ३७८ जना पुरुष र २ हजार १०५ जना महिला छन्। कानुनी प्रक्रिया अघि बढाइएकामध्ये २४ हजार २२२ जनालाई यात्रा कागजात प्राप्त गर्न सम्बन्धित देशका कूटनीतिक नियोगमा पठाइएको छ भने ८ हजार ८४० जनालाई स्वदेश फर्कने यात्रा व्यवस्थापनका लागि पठाइएको छ।

यसै अवधिमा १३ हजार ९३५ जना विदेशी नागरिकलाई देशनिकाला गरिएको मन्त्रालयले जनाएको छ। देशनिकाला हुनेमा विभिन्न आवासीय, श्रम तथा सीमा सुरक्षा नियम उल्लङ्घनका घटनामा संलग्न विदेशी नागरिक रहेका छन्।

साउदी सरकारले अवैध रूपमा देश प्रवेश गर्ने व्यक्तिलाई सहयोग गर्ने, उनीहरूलाई ओसारपसार गर्ने, बसोबासको व्यवस्था मिलाउने वा लुकाउने कार्यमा संलग्न व्यक्तिमाथि पनि कडा कारबाही गर्ने चेतावनी दिएको छ।

मन्त्रालयका अनुसार यस्ता गतिविधिमा संलग्न भएको पुष्टि भएमा १५ वर्षसम्म कैद र १० लाख साउदी रियालसम्म जरिवाना हुन सक्छ। त्यस्ता गतिविधिमा प्रयोग गरिएका सवारीसाधन तथा आवाससमेत जफत गर्न सकिने व्यवस्था छ।

साउदी अरब नेपाली श्रमिकको प्रमुख वैदेशिक रोजगार गन्तव्य मुलुकमध्ये एक हो। त्यहाँ ठूलो संख्यामा नेपाली नागरिक विभिन्न क्षेत्रमा कार्यरत छन्। पछिल्लो सुरक्षा अभियानले साउदीमा रहेका नेपालीसहित विदेशी श्रमिकले आफ्नो आवासीय अनुमति, कार्यसम्बन्धी कागजात र श्रम कानुनको पालना गर्नुपर्ने आवश्यकतालाई थप स्पष्ट पारेको छ।

विशेषगरी इकामाको म्याद सकिएर बस्ने, अनुमति नलिई रोजगारदाता परिवर्तन गर्ने, गैरकानुनी रूपमा काम गर्ने वा अवैध रूपमा बसोबास गर्ने अवस्थाले श्रमिकलाई कानुनी समस्यामा पार्न सक्छ। त्यसैले साउदी अरबमा कार्यरत नेपाली श्रमिकले आफ्नो कानुनी हैसियत र कागजातको वैधताबारे ध्यान दिन आवश्यक छ।