बंगलादेश सरकारले आफ्ना नागरिकलाई कुनै पनि आर्थिक भार नपर्ने गरी वैदेशिक रोजगारीमा पठाउने विशेष कार्यक्रम सुरु गरेको छ। उक्त कार्यक्रमको पहिलो चरणमा ११२ जना बंगलादेशी श्रमिक रोजगारीका लागि मलेसिया प्रस्थान गरेका छन्। श्रमिकहरूलाई बिदाइ गर्न बंगलादेशका प्रधानमन्त्री तारिक रहमान स्वयं ढाकास्थित अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।
प्रधानमन्त्री रहमानले विमानस्थलमै पुगेर मलेसिया जान लागेका श्रमिकहरूसँग भेटघाट तथा कुराकानी गरेका थिए। उनले श्रमिकहरूसँग तस्बिरसमेत खिचाएका थिए। सरकारले सुरु गरेको यो कार्यक्रमको उद्देश्य वैदेशिक रोजगारीमा जाने श्रमिकलाई भर्ती तथा अन्य प्रक्रियाका नाममा आर्थिक भार पर्न नदिनु हो।
प्रधानमन्त्रीले श्रमिकहरूलाई सम्बोधन गर्दै विदेशमा रहँदा सम्बन्धित देशको कानुन, संस्कृति र परम्पराको सम्मान गर्न आग्रह गरेका थिए। उनीहरूको व्यवहार र कामले विदेशमा बंगलादेशको पहिचानसमेत प्रतिनिधित्व गर्ने भएकाले इमानदारी र जिम्मेवारीपूर्वक काम गर्न उनले सुझाव दिएका थिए।

बंगलादेशको सरकारी वैदेशिक रोजगार सेवा संस्था (बीओईएसएल) मार्फत सञ्चालन गरिएको यस कार्यक्रमअन्तर्गत ४ हजार ३९ जनाले आवेदन दिएका थिए। उनीहरूमध्ये खुला विद्युतीय गोलाप्रथा (ई–लटरी) मार्फत प्रारम्भिक छनोट गरी रोजगारदाताको प्रत्यक्ष अन्तर्वार्ता र सीप परीक्षणपछि ११२ जना अन्तिम रूपमा छनोट भएका हुन्।
छनोट भएका श्रमिकले मलेसियास्थित डीएचएल सप्लाई चेन कम्पनीमा काम गर्नेछन्। उनीहरूले मासिक १ हजार ७०० मलेसियन रिंगिट आधारभूत तलब पाउनेछन्। तीन वर्षको नवीकरण गर्न मिल्ने करारमा काम गर्न जाने उनीहरूका लागि रोजगारदाता कम्पनीले आवास तथा स्वास्थ्य सुविधासमेत उपलब्ध गराउनेछ। हवाई टिकटसहित वैदेशिक रोजगारीमा जान लाग्ने सम्पूर्ण खर्च रोजगारदाता कम्पनीले नै बेहोर्ने व्यवस्था गरिएको छ।
बंगलादेश सरकारले पहिलो चरणमा १० हजार श्रमिकलाई शून्य लागतमा मलेसिया पठाउने लक्ष्य राखेको छ। यसै कार्यक्रमअन्तर्गत आगामी डिसेम्बरमा थप २२५ जना श्रमिक पठाउने तयारी छ। त्यस्तै, मलेसियाका चारवटा कम्पनीबाट थप १ हजार ४८ जना श्रमिकका लागि मागपत्रसमेत प्राप्त भएको बीओईएसएलले जनाएको छ।
प्रधानमन्त्री रहमानले वैदेशिक रोजगारीमा जाने श्रमिकको सीप विकास र भाषागत दक्षता अभिवृद्धि गर्ने योजनासमेत अघि सारेका छन्। अन्तर्राष्ट्रिय श्रम बजारको मागअनुसार श्रमिकलाई दक्ष बनाउने र गन्तव्य मुलुकको भाषासम्बन्धी तालिम दिने तयारी भइरहेको उनले बताएका छन्।
नेपालमा मलेसिया जाने नयाँ श्रमिकको प्रक्रिया अवरुद्ध
बंगलादेशले सरकारी संयन्त्रमार्फत शून्य लागतमा श्रमिक पठाउने कार्यक्रम अघि बढाइरहँदा नेपालमा भने मलेसिया जाने नयाँ श्रमिकको प्रक्रिया अवरुद्ध छ। मलेसियाले नेपाली श्रमिक भर्नाका लागि २५ वटा प्रमुख म्यानपावर कम्पनी र तिनका २५० सहायक कम्पनी छनोट गरेपछि नेपाल सरकारले उक्त प्रक्रियाप्रति असहमति जनाउँदै आएको छ।
मलेसियाले आफ्नो विदेशी श्रमिक व्यवस्थापन प्रणाली (एफडब्लूसीएमएस) मार्फत छनोट गरिएका कम्पनीबाट मात्रै श्रमिक भर्ना गर्ने व्यवस्था अघि सारेको छ। तर, नेपाल सरकारले सीमित कम्पनीलाई मात्रै श्रमिक पठाउने अधिकार दिँदा प्रतिस्पर्धा र समान अवसर प्रभावित हुने भन्दै त्यसमा आपत्ति जनाएको छ।
दुई देशबीचको विवाद समाधान हुन नसक्दा नयाँ श्रमिकका लागि आवश्यक बायोमेडिकल स्वास्थ्य परीक्षण तथा नयाँ कलिङ भिसा जारी गर्ने प्रक्रिया प्रभावित भएको छ। यसले मलेसिया रोजगारीमा जान तयारी गरिरहेका नेपाली श्रमिकलाई प्रत्यक्ष असर पारेको छ। यद्यपि, यसअघि नै प्रक्रिया पूरा गरेका केही श्रमिक भने मलेसिया जाने क्रम जारी रहेको छ।
मलेसिया नेपाली श्रमिकका लागि प्रमुख वैदेशिक रोजगार गन्तव्य हो। त्यहाँ ठूलो संख्यामा नेपाली श्रमिक कार्यरत छन्। विशेषगरी उत्पादनमूलक उद्योग, निर्माण तथा सेवा क्षेत्रमा नेपाली श्रमिकको माग रहँदै आएको छ।
एकातिर बंगलादेशले सरकारी संयन्त्रमार्फत रोजगारदाताले सबै खर्च बेहोर्ने गरी आफ्ना नागरिकलाई मलेसिया पठाउन थालेको छ भने अर्कोतिर नेपालमा म्यानपावर कम्पनी छनोटको विवादका कारण नयाँ श्रमिकको वैदेशिक रोजगार प्रक्रिया नै प्रभावित भएको छ। यसले मलेसिया रोजगारीमा निर्भर नेपाली युवाका लागि अवसर गुम्ने चिन्ता बढाएको छ।