वेल्सकी राजकुमरी क्याथरिन (केट) ले क्यान्सरको निदानपछि आफ्नो जीवनमा आएका परिवर्तन र निको हुने प्रक्रियाबारे नयाँ वृत्तचित्रमा निकै व्यक्तिगत तथा भावुक अनुभव बाँडेकी छन् ।
आइतबार बेलायती दर्शकका लागि बीबीसीमा प्रिमियर हुने ३० मिनेटको वृत्तचित्रमा केटको निको हुने यात्रा देखाइएको छ । जनवरी २०२५ मा आफू क्यान्सरबाट मुक्त भएको घोषणा गरेकी उनले यस वृत्तचित्रमा बेलायतको कठिन पर्वतीय सहनशीलता चुनौतीमध्ये एक ‘नेसनल थ्री पिक्स च्यालेन्ज’ पूरा गर्ने क्रममा आफ्ना अनुभव सुनाएकी हुन् ।
केटले यस वर्ष जुन महिनामा २४ घण्टाभित्र स्कटल्यान्ड, इंग्ल्यान्ड र वेल्सका तीनवटै सर्वोच्च हिमाल आरोहण गरेर चुनौती पूरा गरेकी थिइन् । उनले दुई वर्षअघि उपचार गराएको अस्पताललाई सहयोग गर्ने रोयल मार्सडेन क्यान्सर च्यारिटीका लागि रकम जुटाउन यो काम गरेकी हुन् ।
‘यो विचार मलाई वसन्त ऋतुमा आएको थियो । यो केवल शारीरिक चुनौती मात्र थिएन, मेरो लागि विशेष अर्थ राख्ने र धेरै मानिसको जीवन परिवर्तन गर्न सक्ने उपचार तथा विशेषज्ञताको सेवा प्रदान गर्ने समुदायलाई केही दिने कोसिस पनि थियो,’ ४४ वर्षीया राजकुमरीले यसै साता वृत्तचित्रको पूर्वप्रदर्शनमा भनेकी थिइन् ।
वृत्तचित्रमा केटले मृत्युसँगको सामना, निको हुने प्रक्रिया, क्यान्सर प्रभावित अन्य मानिससँगको भेटघाट र आफ्ना भाइ जेम्ससँगको यात्राबारे अनुभव सुनाएकी छन् । यससँगै उनका छोराछोरीले उनलाई भावुक बनाउने आश्चर्यपूर्ण सन्देश पनि दिएका छन् ।
१. ‘जीवन अनन्त छैन’ भन्ने स्वीकार गर्नुपर्छ
वृत्तचित्रको सुरुवाततिर केटले क्यान्सरले शारीरिक परिवर्तन मात्र नभई मानिसलाई आफ्नै कमजोरी र मृत्युको सम्भावनासँग आतसाथ गर्न बाध्य बनाउने बताएकी छन् । ‘जब तपाईं आफ्नै मृत्युको सामना गर्नुहुन्छ, जीवन अनन्त छैन भन्ने स्वीकार गर्नुपर्छ,’ उनले भनेकी छन् । यस्तो अनुभवले मानिसलाई खुला बनाउने र हृदयलाई अझ कोमल बनाउने उनको भनाइ छ । ‘यस्तो अनुभव गरेपछि पहिलेकै मानिसमा फर्किन निकै कठिन हुन्छ । त्यही बेला परिवर्तन सम्भव हुन्छ ।’
उनका अनुसार यो चुनौती निदान र उपचारभन्दा पर जीवन तथा निको हुने प्रक्रियालाई बुझ्ने अवसर हो ।
२. चुनौती पूरा गर्न सक्नेमा उनी आफैँ निश्चित थिइनन्
केटले तीनवटा हिमाल आरोहण गर्ने चुनौती आफ्नो उपचारपछिको यात्रामा व्यक्तिगत उपलब्धि भएको बताएकी छन् । तर निको हुने प्रक्रियाको कुनै निश्चित अन्तिम बिन्दु नहुने पनि उनले स्वीकार गरेकी छन् । ‘यो कस्तो हुनेछ भन्ने मलाई थाहा छैन । मेरो शरीर शारीरिक रूपमा यति बलियो छ कि छैन भन्ने पनि थाहा छैन । मैले अभ्यास गरिरहेकी छु, तर त्यो पर्याप्त छ कि छैन भन्ने निश्चित छैन,’ उनले भनेकी छन् ।

उनले यो चुनौतीलाई सामान्य पर्वतारोहणभन्दा ‘तीर्थयात्रा’ जस्तो अनुभवका रूपमा व्याख्या गरेकी छन् । आफ्नो उपचार तथा पुनःस्थापनाको यात्रामा रहेका अन्य मानिसले हिँडेका बाटोमा उनी पनि अघि बढेकी थिइन् ।
धेरै क्यान्सरका बिरामीले उपचार सकिएपछि र नयाँ जीवनको चरण सुरु भएको संकेतका रूपमा घण्टी बजाउने गर्छन् । तर केटलाई यो परम्पराबारे पहिले जानकारी थिएन । ‘यो पनि एउटा परम्परा हो भन्ने मलाई थाहै थिएन,’ उनले इंग्ल्यान्डको सर्वोच्च हिमाल स्काफेल पाइक चढ्दै गर्दा आफ्ना भाइ जेम्स मिडलटनसँग भनेकी छन् ।
३. प्रकृतिमा किन रमाउँछिन् केट ?
केटले यसअघि पनि प्रकृतिले मानिसको सामाजिक तथा भावनात्मक स्वास्थ्यमा सहयोग पुर्याउने बताउँदै आएकी छन् । उनले प्रकृतिलाई आफ्नो आश्रय र शरणस्थलका रूपमा व्याख्या गरेकी छन् ।
‘जब म शारीरिक रूपमा प्रकृतिमा जान सक्दिनथेँ, अस्पतालको शय्यामा बसेर पनि प्रकृतिको कल्पना गर्थें,’ उनले भनेकी छिन्, ‘अहिले म पर्याप्त स्वस्थ भएपछि समुद्र, रूख र हिमाल भएका ती सबै ठाउँमा पुग्ने गहिरो अभिलासा बोक्छु ।’

राजकुमरीका लागि प्रकृतिको आकर्षण आध्यात्मिक अनुभूतिसँग पनि जोडिएको छ । उनी भन्छिन्, ‘म त्यो अनुभूति प्रकृतिमा अरू ठाउँभन्दा बढी पाउँछु । आफू कुनै ठूलो अस्तित्वको हिस्सा भएको र आफूले आफूलाई सम्हाल्न नसक्दा पनि कुनै अर्को शक्तिले सम्हालिरहेको महसुस हुन्छ ।’
४. अँध्यारोमा कसैले हात समातेको क्षण सम्झिन्
केटले अस्पतालमा चेतना हराउने र फेरि आउने अवस्थाबीच बिताएको निकै कठिन समय सम्झिएकी छन् । त्यतिबेला उनलाई सबैभन्दा बढी याद रहेको कुरा कसैले आफ्नो हात समातिरहेको क्षण हो । ‘उनीहरू मसँग कुरा गरिरहेका थिएनन् । केही समाधान गर्ने प्रयास पनि गरिरहेका थिएनन् । उनीहरू केवल त्यहाँ थिए,’ उनले भनिन्, ‘तपाईंलाई केवल साथमा कोही भएको हुनुपर्छ । प्रेम भनेको त्यही हो ।’
अस्पतालको अनुभवले उनको दैनिक जीवनलाई हेर्ने दृष्टिकोण पनि बदलिएको छ । ‘क्यान्सरले सबै कुरा खोसिदिन्छ । एक किसिमले तपाईं आफैँलाई पनि गुमाउनुहुन्छ । मैले फेरि पूर्ण रूपमा जीवन जिउन, सामान्य कुराहरूमा खुसी खोज्न सिक्दै छु,’ उनी भन्छिन् ।
यो अनुभवले उनलाई जीवनमा महत्त्वपूर्ण क्षणहरूमा उपस्थित हुन, गति कम गर्न र समयको मूल्य बुझ्न सिकाएको छ । उनले यही सिकाइ अभिभावकत्वमा पनि अपनाएकी छन् । ‘हामी धेरै समय केही न केही गरिरहन्छौँ, तर केवल उपस्थित भएर बस्दैनौँ । अभिभावक हुँदा पनि मैले यही पाठ सिकेकी छु । उनीहरूको छेउमा, उनीहरूसँगै हुनु नै पर्याप्त हुन्छ ।’
५. विलियम र छोराछोरीको भावुक सन्देश
केट तीनवटा हिमालमध्ये दोस्रो हिमालको चुचुरोमा पुगेका बेला उनका भाइ जेम्सले श्रीमान् राजकुमार विलियमसँग मिलेर विशेष उपहारको व्यवस्था गरेको खुलाएका थिए । उनले मोबाइलमा केटका तीन छोराछोरीका भिडियो सन्देश देखाएका थिए ।
आठ वर्षीय राजकुमार लुइसले भिडियोमा भनेका थिए, ‘हेलो ममी । म तपाईंलाई साँच्चै धेरै माया गर्छु । हिमाल चढ्दा राम्रो होस् । सम्झनुहोस्, म सधैँ तपाईंको हृदयमा छु र तपाईंलाई धेरै माया गर्छु ।’
त्यसपछि जेठा छोरा राजकुमार जर्जले उनलाई अघि बढिरहन आग्रह गर्दै आफूले उनको यात्रा पछ्याइरहेको र उनी निकै बलियो देखिएको बताएका थिए । राजकुमरी चार्लोटले परिवारले उनको पदयात्रा र चुनौती पूरा गर्ने प्रयासप्रति गर्व गरेको बताएकी थिइन् ।

यी सन्देशले भावुक बनेकी केटले भनिन्, ‘उनीहरूले मलाई अस्पतालबाट बाहिर निस्कने कारण दिए । यो चुनौती पूरा गर्ने कारण पनि उनीहरूले नै दिनेछन् ।’
अन्ततः उनले वेल्सको तेस्रो तथा अन्तिम हिमालको चुचुरोमा पुगेर चुनौती पूरा गरिन् । त्यहाँ पुगेपछि उनले आफ्नो शरीरप्रति गर्व गर्दै भनिन्, ‘ओहो, मेरो शरीर ! तिमीले कति राम्रो गर्यौ ।’
यात्रा पूरा गरेर तल फर्किएपछि चार्लोट र लुइस आमाको अँगालोमा हाम फाले । केट मुस्कुराइरहेकी थिइन् । त्यसपछि उनी जर्जलाई निधारमा चुम्बन गर्दै कसिलो अँगालो हालेर भावुक भएको दृश्य पनि वृत्तचित्रमा देखाइएको छ ।
केटले आफूले मानिसहरूमा करुणा र सहानुभूति जगाउने उद्देश्यले यो वृत्तचित्र बनाउन चाहेको बताएकी छन् । उनको अन्तिम सन्देश आफ्नै अनुभवमा मात्र सीमित छैन ।
‘तपाईं जुन बाटोमा हुनुहुन्छ, जुन चुनौती सामना गर्दै हुनुहुन्छ, तपाईं एक्लो हुनुहुन्न । सबैभन्दा अँध्यारो समयबीच पनि सुन्दरता र खुसी भेट्टाउन सकिन्छ,’ उनले भनेकी छन् ।
म्याक्स फोस्टर र एरिना पोर्खोभनिक, सिएनएनबाट