मलेसिया रोजगारीको विवादमा २७५ व्यवसायीको आपत्ति, सङ्घ नेतृत्वमाथि विभेद गरेको आरोप

आप्रवासन आप्रवासन

काठमाडौँ । मलेसियाको एफडब्लूसीएमएस प्रणालीसँग जोडिएको विवादमा वैदेशिक रोजगार व्यवसायीहरूको एक समूहले नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको वर्तमान नेतृत्वमाथि व्यवसायीबिच विभेद र विभाजन सिर्जना गरेको आरोप लगाएको छ ।

वैदेशिक रोजगार व्यवसायी आवाज अभियान समूहले एक विज्ञप्ति जारी गर्दै मलेसिया सरकारको एफडब्लूसीएमएस प्रणालीअन्तर्गत सूचीकृत २५ प्रिन्सिपल रिक्रुटमेन्ट एजेन्सी (पीआरए) तथा २५० एसोसिएट रिक्रुटमेन्ट एजेन्सी (एआरए) गरी २७५ व्यवसायीमाथि सङ्घको नेतृत्वले सौतेनी व्यवहार गरेको आरोप लगाएको हो ।समूहले आफूहरू पनि वैदेशिक रोजगार व्यवसायका अभिन्न अङ्ग भएको भन्दै व्यवसायीको हकहित र एकताको पक्षमा रहेको स्पष्ट पारेको छ । सङ्घको संस्थागत विकास, भवन खरिद तथा निर्माणलगायतका गतिविधिमा योगदान पुर्‍याएका व्यवसायीलाई अहिले गैरव्यवसायीसरह व्यवहार गरिएको भन्दै समूहले आपत्ति जनाएको छ ।

विज्ञप्तिमा एफडब्लूसीएमएस प्रणालीबाट अलग हुने प्रतिबद्धतासहित सम्बन्धित निकाय र प्रणालीको आधिकारिक इमेलमा आवश्यक विवरण, स्पष्टीकरण तथा कागजात पठाइसक्दा पनि व्यवसायीविरुद्ध पक्राउ पुर्जी जारी गर्ने र धरपकड गर्ने प्रक्रिया अघि बढाइएको दाबी गरिएको छ ।

मूहका अनुसार कानुनी अधिकार र निष्पक्ष सुनुवाइको माग गर्दै आफूहरू सर्वोच्च अदालत पुगेका हुन् । पक्राउ पुर्जी जारी गर्ने अधिकार क्षेत्र र त्यसको कानुनी आधारबारे प्रश्न उठेको अवस्थामा सर्वोच्च अदालतबाट अल्पकालीन अन्तरिम आदेश जारी भएको पनि विज्ञप्तिमा उल्लेख छ । अदालतको अन्तिम निर्णय पालना गर्ने प्रतिबद्धता समूहले जनाएको छ ।

यसै क्रममा केही व्यवसायी पक्राउ परी थुनामा बस्नुपरेको भन्दै समूहले सङ्घका अध्यक्ष डिकबहादुर खत्रीको भूमिकामाथि पनि प्रश्न उठाएको छ । सङ्घका अध्यक्षले मुद्दाको सुनुवाइमा सहभागी हुन पाऊँ भन्दै अदालतमा निवेदन दिएको विषयले व्यवसायीलाई थप कानुनी सङ्कटमा पार्ने प्रयास भएको समूहको आरोप छ ।

 

मंसिर ११ गते सङ्घको आधिकारिक सामाजिक सञ्जाल पेजबाट सार्वजनिक सूचनामा व्यवसायीले अदालतमा जानुलाई धम्कीका रूपमा चित्रण गरिएको भन्दै समूहले त्यसप्रति पनि आपत्ति जनाएको छ । अदालतबाट न्याय माग्नु नागरिकको कानुनी अधिकार भएको उल्लेख गर्दै सामाजिक सञ्जालमार्फत व्यवसायीलाई हतोत्साहित गर्ने काम सङ्घको जिम्मेवारीअनुकूल नभएको विज्ञप्तिमा उल्लेख छ ।

समूहले सङ्घको नेतृत्वले व्यवसायीका वास्तविक समस्या समाधान गर्न नसकेको आरोपसमेत लगाएको छ । व्यवसायीले प्राप्त गर्नुपर्ने सेवा शुल्क, हवाई टिकटको मूल्यवृद्धि, दूतावासमा कागजात प्रमाणीकरणमा हुने ढिलाइ, युरोपेली मुलुकका लागि आवश्यक कागजातको अटेस्टेसन, नयाँ रोजगारी गन्तव्यको खोजी तथा श्रम स्वीकृति प्रक्रियामा देखिएका जटिलता समाधान गर्न सङ्घले प्रभावकारी पहल नगरेको उसको भनाइ छ ।

त्यस्तै, साउदी अरबमा व्यवसाय सञ्चालन गर्ने एजेन्सीले भोगिरहेको एसबीपी प्रक्रियासम्बन्धी समस्या समाधानमा पनि सङ्घले चासो नदिएको समूहको आरोप छ । व्यवसायीका समस्या समाधान गर्नुपर्ने सङ्घले उल्टै सरकारी निकायमा व्यवसायीविरुद्ध पत्राचार गर्ने र पक्राउ तथा कारबाहीका लागि दबाब सिर्जना गर्ने गतिविधि गरेको भन्दै समूहले नेतृत्वको भूमिकामाथि प्रश्न उठाएको छ ।

मलेसियाको एफडब्लूसीएमएससँग सम्बन्धित समस्या नेपाल र मलेसिया सरकारबिचको कूटनीतिक संवाद तथा श्रम सम्झौतामार्फत समाधान गर्नुपर्ने समूहको धारणा छ । यसलाई व्यवसायीबिचको द्वन्द्व बनाउनु र व्यवसायीलाई दोषी करार गर्नु गलत भएको विज्ञप्तिमा उल्लेख छ । विवादमा विदेशी पक्षको प्रभाव वा सम्भावित आर्थिक स्वार्थ जोडिएको हो कि भन्ने आशङ्काको निष्पक्ष छानबिन हुनुपर्ने मागसमेत समूहले गरेको छ ।

समूहले केही दिनभित्रै आम वैदेशिक रोजगार व्यवसायीको बृहत् भेला आयोजना गर्ने जनाएको छ । भेलामा व्यवसायीका साझा समस्या, सङ्घभित्र सुधार गर्नुपर्ने विषय र आगामी कदमबारे छलफल गरिने विज्ञप्तिमा उल्लेख छ । सङ्घ र व्यवसायीको हित विपरीत भएका कामकारबाही तथा व्यवसायीविरुद्ध लागेको भनिएका पदाधिकारीको भूमिकाबारे तथ्यसहित सार्वजनिक गर्ने पनि समूहले जनाएको छ ।

आम व्यवसायीको सुझाव र भेलाबाट प्राप्त म्यान्डेटअनुसार आगामी कदम चाल्ने बताउँदै समूहले व्यक्तिगत प्रतिशोध नभई व्यवसायीको हकहित, सम्मान, सुरक्षा र सङ्घको संस्थागत गरिमा जोगाउनु आफ्नो उद्देश्य रहेको स्पष्ट पारेको छ ।