अमेरिकामा अब आप्रवासीले हिरासतबाट जमानतको निवेदन दिन नपाउने भएका छन् ।
अमेरिकी मिडिया एबिसी न्युजका अनुसार अमेरिकाको भन्सार तथा अध्यागमन निकाय, आइसका कार्यवाहक निर्देशक टोड लियोन्सले एक मेमोमार्फत नीति परिवर्तनको घोषणा गरेका हुन्।
राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले देशमा गैर कानुनी रूपमा प्रवेश गर्ने आप्रवासीहरूलाई हिरासतमा राख्ने प्रयासलाई तीव्र बनाइरहेको बेला नयाँ नीति ल्याइएको हो ।
यसअघि अमेरिका प्रवेश गर्ने आप्रवासीहरूले आप्रवासन न्यायाधीशसमक्ष जमानतका लागि निवेदन दिन सक्थे ।
तर अब भने विना भिसा अमेरिका प्रवेश गर्ने आप्रवासीहरूले देश निकाला प्रक्रियाको अवधिभर हिरासतमा बस्नुपर्ने भएको छ।
देश निकाला प्रक्रिया टुङ्गो लाग्न महिनौँ लाग्न सक्छ।
नयाँ नीतिको असर अमेरिकामा रहेका नेपालीसहित लाखौँ कागजातविहीन आप्रवासीहरूमा पर्ने छ ।
अमेरिकामा करिब १ करोड १० लाख कागजातविहीन आप्रवासी रहेको अनुमान छ ।
आप्रवासी अधिकारकर्मीहरूले आइसको नयाँ नीतिलाई संविधान विपरीत र मानवअधिकारको उल्लङ्घन भएको बताएका छन् ।
त्यसैले नयाँ नीतिविरुद्ध अदालतमा मुद्दा पर्न सक्ने आङ्कलन छ ।