आप्रवासीहरूको विरोधमा पोल्यान्डभर प्रदर्शनहरू भएका छन् ।
बिबिसीका अनुसार शनिबार पोल्यान्डको राजधानी वारसासहित दर्जनौँ सहर तथा नगरहरूमा आप्रवासी विरोधी प्रदर्शन भएका हुन् ।
सबैभन्दा ठुलो प्रदर्शन दक्षिणी सहर काटोविसमा भएको थियो जहाँ करिब ३ हजार प्रदर्शनकारीहरू सहभागी भएको प्रहरीको अनुमान छ ।
पोल्यान्डमा अवैध आप्रवासनको बाढी आएको भन्दै उग्र दक्षिणपन्थी राजनीतिक समूहहरूले प्रदर्शनहरू आयोजना गरेका हुन् ।
प्रदर्शनकारीहरूले अवैध आप्रवासन बन्द गर्नुपर्ने र जबरजस्ती निष्कासन प्रक्रिया सुरु गर्नुपर्ने माग राखेका छन् ।
पछिल्लो समय पोल्यान्डमा आप्रवासीहरूको सङ्ख्या बढ्दै गएको छ ।
जसलाई नियन्त्रण गर्न पोलिस सरकारले आप्रवासन नीतिमा कडाइ समेत गर्दै गइरहेको छ।
यस महिनाको सुरुबाटै पोल्यान्डले जर्मनी र लिथुएनियासँगको सीमामा आवागमन जाँच कडा बनाएको छ ।
विदेशी विद्यार्थीका लागि समेत भिसा प्रणालीमा थप कडाइ गरिएको छ ।
तर त्यसका बाबजुद पोल्यान्डमा आप्रवासी विरोधी मत बढ्दै गएको छ ।
जसले गर्दा पोल्यान्डमा रहेका नेपालीहरूको सुरक्षा संवेदनशीलता समेत बढेको छ ।
पोल्यान्डमा ५ हजार बढी नेपाली रहेको अनुमान छ ।