भेनेजुएलाले अमेरिकाले देश निकाला गरी एल साल्भाडोर पुर्याएको आप्रवासीमाथि अत्याचार भएको आरोप लगाएको छ ।
आफ्नो सम्पर्कमा आएका भेनेजुएलाका आप्रवासीहरुसँगको छलफलपछि भेनेजुएलाले आप्रवासीहरुमाथि गम्भीर मानव अधिकार उल्लङ्घन भइरहेको ठहर गरेको हो ।
अमेरिकाले गत मार्च महिनामा २५० बढी भेनेजुएलाका आप्रवासीलाई एल साल्भाडोरको निकै कठोर मानिएको जेलहरुमा पठाएको थियो ।
ती आप्रवासीलाई अमेरिकाले हालै मात्र भेनेजुएलाको राजधानी काराकासमा ल्याएर छाडिदिएको थियो ।
यसरी एल साल्भाडोरमा केही महिना राखेर स्वदेश फर्काइएका आप्रवासीहरुको बयानका आधारमा भेनेजुएलाले सो निश्कर्ष निकालेको हो ।
एल साल्भाडोरका जेलहरुमा ती आप्रवासीहरुमाथि यौन दुर्व्यवहार, कुटपिट र संगठित यातनाहरु दिइएको दाबी गरिएको छ ।
भेनेजुएलाले यस विषयमा औपचारिक छानबिन सुरु गर्ने घोषणा समेत गरेको छ ।
अमेरिकाले एल साल्भाडोरसँग सम्झौताका आधारमा हालसम्म सैयौँ आप्रवासीलाई देश निकाला गरी एल साल्भाडोर पुर्याएको छ ।