अभिभावक स्पनसरसिप कार्यक्रम

क्यानडाद्वारा अभिभावक स्पनसरसिप कार्यक्रम खुला

आप्रवासन आप्रवासन

क्यानडाको सङ्घीय सरकारले २०२५ को लागि प्यारेन्ट्स एन्ड ग्र्यान्ड प्यारेन्ट्स स्पनसरसिप कार्यक्रम खुलाएको छ ।

क्यानडाको इमिग्रेसन, रेफयुजिज एन्ड सिटिजनसिप क्यानडाले यो वर्षका लागि स्पनसरसिप कार्यक्रम सुरु गरेको हो ।

यस कार्यक्रम अन्तर्गत क्यानडाको पिआर वा नागरिकता लिएका विदेशी मूलका क्यानडेलीले आफ्ना बुवा, आमा, हजुरबुवा र हजुरआमालाई प्रायोजन गर्न सक्छन् र क्यानडा बोलाउन सक्छन् ।

त्यसका लागि इमिग्रेसन, रेफयुजिज एन्ड सिटिजनसिप क्यानडाले जुलाई २८ देखि आवेदन दिन निमन्त्रणा पठाउन सुरु गरेको छ ।

सो निकायले अक्टोबर ९ सम्ममा १७ हजार ८६० जनालाई चिट्ठामार्फत निमन्त्रणा पठाउने छ।

निमन्त्रणा पाएका मध्ये १० हजार जनालाई पक्रियाका योग्य ठहराउने छ ।

त्यसरी योग्य हुनेले आफ्ना अभिभावकलाई प्रायोजन गरी स्थायी रूपमै क्यानडामा राख्न पाउने छन् ।

निमन्त्रणा पाउने आवेदकले क्यानडाको पर्मानेन्ट रेसिडेन्सी पोर्टलमार्फत आवेदन दिन सक्ने छन् ।

यसको लाभ क्यानडामा रहेका नेपालीले समेत उठाउन पाउने छन् ।

क्यानडामा एक लाख बढी नेपाली रहेको अनुमान छ ।

यद्यपि, त्यसमध्ये कति नेपालीले पिआर र नागरिकता पाइसकेका छन् भन्ने यकिन छैन ।