सेन्जेन भिसा

सेन्जेन भिसा अब पूर्ण डिजिटल

आप्रवासन आप्रवासन

सेन्जेन भिसाका लागि आवेदन दिन अब जटिल कागजी पक्रिया र परम्परागत भिसा स्टिकरहरू आवश्यक नपर्ने भएको छ ।

युरोपेली संघ, ईयुले सेन्जेन भिसा प्रणालीलाई पूर्ण डिजिटल बनाउने तयारी अघि बढाएको छ ।

ईयुले सन् २०२८ सम्ममा सेन्जेन भिसा प्रणालीलाई पूर्ण डिजिटल बनाउने गरी कार्ययोजना ल्याएको हो ।

जस अनुसार हालको स्टिकरलाई डिजिटल बारकोडमार्फत प्रतिस्थापन गर्ने योजना छ ।

आवेदकहरूले अनलाइनबाटै कागजात अपलोड गर्न, अपडेट ट्र्याक गर्न र शुल्क तिर्न सक्ने छन् ।

यी चरणहरू पूरा गरेपछि आवेदकले डिजिटल रूपमा हस्ताक्षर गरिएको बारकोड भिसा प्राप्त गर्नेछन्।

यात्रुहरूले सीमा चेकपोइन्टहरूमा ती बारकोडहरू स्क्यान गर्नुपर्ने छ ।

बारकोड स्क्यान गरेपछि प्राप्त विवरण अनुरुप अध्यागमन अधिकारीहरूले केन्द्रीकृत डाटाबेसमार्फत व्यक्तिगत र भिसा विवरणको अध्ययन गर्ने छन् ।

त्यसपछि अधिकारीहरुले यात्रुलाई प्रवेशको अनुमति प्रदान गर्ने छन् ।

यद्यपि, पहिलो पटक आवेदन दिनेहरुले भने व्यक्तिगत रूपमा बायोमेट्रिक्स दिनुपर्ने छ।

तर त्यसपछिको भ्रमणमा प्रक्रिया निकै सरल हुनेछ।

यसअघि फ्रान्सले २०२४ पेरिस ओलम्पिकमा परीक्षणको रुपमा ७० हजार बारकोडयुक्त डिजिटल सेन्जेन भिसा जारी गरेको थियो। सो परीक्षण सफल भएपछि यो प्रणाली पुरै ईयुभरि लागु गर्ने योजना बनाइएको हो ।