अब अमेरिकाको भिसा आवेदन दिएका बच्चा र वृद्धले पनि अनिवार्य रूपमा अन्तर्वार्ता दिनुपर्ने भएको छ ।
अमेरिकाको विदेश मन्त्रालयले गैर आप्रवासी भिसा अन्तर्वार्ता छुट सम्बन्धी नीतिमा फेरबदल गर्दै नयाँ व्यवस्था गरेको हो ।
हाल १४ वर्षभन्दा कम र ७९ वर्षभन्दा माथि उमेर भएका भिसा आवेदकलाई व्यक्तिगत अन्तर्वार्ता अनिवार्य छैन ।
तर अब भने सो उमेर समूहमा पर्ने आवेदकले समेत कन्सुलर अधिकारीसँग व्यक्तिगत अन्तर्वार्ता दिनुपर्ने छ।
यो परिवर्तनले अमेरिकामा रहेका आफ्ना सन्तान वा मातापिता भेट्न जाने नेपालीसहितका विश्वभरिका भिसा आवदेकलाई सिधा असर गर्ने छ ।
कन्सुलर अधिकारीले उचित नठहराएको खण्डमा भिसा नदिन पनि सक्छन् ।
त्यसैले यसअघिको जस्तो भिसा प्राप्ति सहज हुने छैन ।
यद्यपि, कूटनीतिक र अफिसियल भिसाका लागि आवेदन दिनेहरूलाई भने अन्तर्वार्ता छूटको सुविधा दिइएको छ ।
यस्तै, एकै श्रेणीमा १२ महिनाभन्दा कम समयअघि मात्रै भिसाको म्याद सकिएको गैर आप्रवासी भिसा आवेदकले पनि अन्तर्वार्ता छुटको सुविधा पाउने छन् ।
नयाँ व्यवस्था आउँदो सेप्टेम्बर २ देखि लागू हुनेछ।