कामदार अभाव टार्न न्युजिल्याण्डले आप्रवासीहरूका लागि २ प्रकारका भिसा जारी गर्ने भएको छ ।
न्युजिल्याण्ड सरकारले देशमा निश्चित अवधिका लागि मौसमी कामदारहरू भित्र्याउन ग्लोबल वर्क फोर्स र पीक सिजनल भिसा ल्याउने भएको हो ।
यी भिसामार्फत रोजगारदाता कम्पनीहरूले पिक सिजनमा कृषि, बागवानी, पर्यटन र खाद्य प्रशोधनको क्षेत्रमा कामदार आपूर्ति गर्न सक्ने छन् ।
ग्लोबल वर्क फोर्स सिजनल भिसाले दक्ष मौसमी आप्रवासी कामदारलाई ३ वर्षसम्मको वैधता प्रदान गर्दछ।
भिसाका लागि योग्य हुन आवेदकले विगत ६ वर्षमा कम्तीमा ३ मौसमहरूमा काम गरेको हुनुपर्छ।
आवेदकले लेबर मार्केट टेस्ट र अङ्ग्रेजी भाषाको प्रमाण पेस गर्नुपर्ने छैन ।
तर एक चोटि छनौट भएपछि योग्यता कायम राख्न प्रत्येक वर्ष कम्तीमा ३ महिना न्युजिल्याण्डबाहिर बिताउनु पर्नेछ।
पीक सिजनल भिसाले भने मौसमी कामदारलाई ७ महिनासम्मको मात्र वैधता प्रदान गर्दछ।
जसमा योग्य हुन आवेदकहरूसँग विगत ३ वर्षमा कम्तीमा एक सिजनको कार्य अनुभव हुनुपर्ने छ ।
यसबाहेक, स्वास्थ्य बिमा समेत गराएको हुनुपर्छ ।
७ महिना पूरा गरेपछि ४ महिनाको ब्रेक लिएर कामदारहरूले पुनः आवेदन दिन सक्ने छन् ।
यस भिसाको लागि पनि अङ्ग्रेजी भाषाको जाँच अनिवार्य गरिएको छैन।
दुवै प्रकारका भिसा आउँदो डिसेम्बरदेखि जारी गर्न सुरु गरिने न्युजिल्याण्ड सरकारले जनाएको छ ।