सरकारले असाइलम आवेदन लिन बन्द गरेपछि ग्रिस पुग्ने आप्रवासीको सङ्ख्यामा व्यापक गिरावट आएको छ ।
ग्रिक सरकारले गत जुलाई ९ देखि आफ्नो देश आइपुग्ने आप्रवासीबाट असाइलम आवेदन स्वीकार गर्न बन्द गरेको छ ।
जसको असर अवैध रूपमा ग्रिस पुग्ने आप्रवासीको सङ्ख्यामा परेको हो ।
ग्रिसको आप्रवासन मन्त्रालयका अनुसार हाल अवैध रूपमा ग्रिस छिर्ने आप्रवासीको मासिक दर ९०० भन्दा कम छ ।
जबकि, जुलाई ९ अघिसम्म मासिक एक हजार ५०० को औसतमा आप्रवासीहरू ग्रिस छिर्ने गरेका थिए ।
जसले गर्दा सन् २०२५ का ५ महिनामै ७ हजार बढी आप्रवासी अवैध तरिकाले ग्रिस प्रवेश गरेका थिए ।
अवैध आप्रवासन घटाउन चालिएको पछिल्लो उपायले काम गरेपछि ग्रिस सरकार समेत उत्साहित भएको छ ।
सरकारले हालका लागि ३ महिनासम्मको असलाइम आवेदन लिन रोक लगाएकोमा त्यसलाई लम्बाउने योजना बनाएको छ ।
हरेक वर्ष युरोप छिर्न चाहने अवैध आप्रवासीहरूले ग्रिसलाई माध्यम बनाउँदै आएका छन् ।
बर्सेनि त्यसरी ५५ हजारदेखि ६५ हजार आप्रवासीहरू ग्रिस प्रवेश गर्ने गरेको सरकारको आँकडा छ ।
सन् २०२४ मा मात्रै ग्रिसको प्रहरीले कुल ७४ हजार अवैध आप्रवासीहरूलाई पक्राउ गरेको थियो ।
तर तीमध्ये केवल २ हजार ५०० लाई मात्र निष्कासित गरिएको थियो।
पक्राउ पर्ने आप्रवासीहरूले असाइलम निवेदन दिने र त्यस अवस्थामा देश निकाला गर्न नमिल्ने हुँदा आप्रवासीको सङ्ख्या बढ्दै गइरहेको थियो ।