अध्यागमन विभागको सार्वजनिक अनुरोध

अब अध्यागमनले भिजिट भिसामा जानेको हैसियत जाँच गरेर रोक नलगाउने

आप्रवासन आप्रवासन

अध्यागमन विभागले सुरक्षित, मर्यादित र व्यवस्थित वैदेशिक यात्राका लागि सार्वजनिक अनुरोध गरेको छ ।

विभागले विभिन्न ७ वटा पक्षलाई अध्यागमन पक्रियालाई थप मर्यादित बनाउन सहयोग गर्न आग्रह गरेको हो ।

विभागले नागरिक तथा यात्रु, वायु सेवा कम्पनी, स्थानीय तह र जिल्ला प्रशासन, सञ्चारमाध्यम, कूटनीतिक नियोग, ट्राभल्स एन्ड टुर्स, कन्सल्टेन्सी तथा म्यानपावरका र मुद्रा सटही कारोबार गर्ने संस्थाहरूलाई अनुरोध गरेको हो ।

विभागले नागरिक तथा यात्रुहरूका हकमा अब अनुमान, शङ्का र यात्रुको भौतिक हैसियतको आधारमा कुनै नेपाली नागरिकलाई विभेदपूर्ण व्यवहार नगरिने बताएको छ ।

अब उप्रान्त पर्यटकीय प्रकृतिको भिसामा जाने कुनै पनि नेपालीको हैसियत जाँच गरेर रोक लगाउने कार्य गरिने विभागको भनाई  छ ।

विभागले वायुसेवा कम्पनीहरूलाई समेत क्षमता भन्दा बढी बुकिङ नगराउन र विमानको प्रस्थान समयभन्दा एक घण्टा अगावै यात्रुलाई अध्यागमन कक्षमा प्रवेश गराउन भनेको छ ।

कतिपय ट्राभल्स एन्ड टुर्स, कन्सल्टेन्सी तथा म्यानपावरहरूले पर्यटक भिसामा विदेश जान चाहने नेपालीसँग बार्गेनिङ गर्ने, नक्कली कागजात आफैँ बनाइदिने वा बनाउन प्रोत्साहन गर्ने गरेको पाइएको विभागको भनाई छ ।

आगामी दिनमा पनि त्यस्ता कार्य गरेको पाइए आवश्यक कारबाहीका लागि प्रहरीमा पठाइने विभागको चेतावनी छ ।