अमेरिकामा ५० वर्षसम्म लगातार बढिरहेको आप्रवासी जनसङ्ख्या पहिलो पटक घटेको छ ।
अमेरिकी थिङ्क ट्याङ्क प्यु रिसर्च सेन्टरले गरेको एक अध्ययनले पछिल्लो ६ महिना पहिलो पल्ट आप्रवासीको सङ्ख्यामा गिरावट आएको देखाएको हो ।
सन् २०२५ को जनवरीदेखि जुनसम्मको ६ महिनाको अवधिमा अमेरिकामा आप्रवासीको सङ्ख्या १४ लाखले घटेको छ ।
सन् २०२५ को जनवरीसम्ममा अमेरिकामा कुल ५ करोड ३३ लाख आप्रवासीको बसोबास थियो ।
सन् २०२५ को जुनमा यो सङ्ख्या ५ करोड १९ लाखमा झरेको हो ।
गत जनवरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता सम्हालेपछि आप्रवासनमा गरेको कडाइका कारण आप्रवासीको सङ्ख्या घटेको हो ।
ट्रम्पले अवैध आप्रवासीलाई देश निकाला गर्ने र भिसामा व्यापक कडाइ गरिरहेका छन् ।
जसको असर आप्रवासीको जनसंख्यासम्मै परेको हो ।
योसँगै अमेरिका बासिन्दामा आप्रवासीको हिस्सा १५ दशमलव ४ प्रतिशत पुगेको छ ।
सन् २०२५ को जनवरीमा यस्तो हिस्सा १५ दशमलव ८ प्रतिशत थियो ।
अमेरिकामा कार्यरत आप्रवासी श्रम जनशक्ति समेत ७ लाख ५० हजारले घटेका छन् ।
गत जनवरीमा अमेरिकाको श्रम जनशक्तिमा आप्रवासीको हिस्सा २० प्रतिशत थियो ।
जुनसम्म आइपुग्दा श्रम जनशक्तिमा आप्रवासीको हिस्सा १९ प्रतिशतमा झरेको छ ।