पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अष्ट्रेलिया उडान हुने भएको छ । चीनको सिचुवान एयरलाइन्सले छेन्दु हुँदै अष्ट्रलिया उडान गर्ने तयारी गरेको हो । यसका निम्ति सिचुवान एयरलाइन्सले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेको छ ।
नेपाल नागरिक उड्डन प्राधिकरणका अनुसार सिचुवान एयरलाइन्सले छेन्दु हुँदै अष्ट्रेलिया उडानको अनुमति मागेको हो । आगामी सेप्टेम्बर महिनाबाट उडान गर्ने कम्पनीको योजना छ।
सिचुवान एयरलाइन्सले पोखराबाट अष्ट्रेलिया उडान गर्ने योजना बनाएको छ । यसअघि सिचुवान एयरलाइन्सले पोखरा विमानस्थलमा केही समय चार्टर उडान गरेको थियो । कम्पनीले नयाँ गन्तव्यका रूपमा अष्ट्रेलियामा नियमित उडान गर्न चाहेको हो । विसं २०८० असार ६ गते उक्त एयरलाइन्सको एयरवस ‘ए’ ३१९ पहिलोपटक पोखरा विमानस्थलमा उडान शुरु गरेको थियो ।
असारको ८ र ९ गते फेवातालमा भएको ‘नेपाल–चाइना फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल २०२३’ सहभागी चिनियाँ प्रतिनिधि, खेलाडी, दर्शकसहितका पर्यटकलाई ल्याउने र लैजाने प्रयोजनार्थ चार्टर्ड उडान गरिएको थियो । यसैबीच भुटानको निजी वायुसेवा कम्पनी भूटान
एयरलाइन्स टासीले पनि पोखरा विमानस्थलमा चार्टर्ड उडान गर्ने तयारी गरेको छ । एयरलाइन्सले आगामी सेप्टेम्बर २८ र अक्टोबरमा चार दिन यात्रु चार्टर्ड उडानका लागि अनुमति मागेको छ ।
हाल हिमालय एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हप्तामा एक दिन नियमित उडान गरिरहेको छ। काठमाडौँ–ल्हासा–पोखरा–ल्हासा–काठमाडौँ जोड्नेगरी हिमालयले उडान सञ्चालन गरिरहेको हो ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको दुई वर्षपछि हिमालयले पहिलो व्यावसायिक उडान शुरु गरेको थियो ।
विमानस्थलमा हिमालयका साथै सिचुवान र भूटान एयरलाइन्सको उडान भएमा विमानस्थल चलायमान बन्ने र गन्तव्य जाने यात्रुका लागि पनि सहज हुने प्राधिकरणको विश्वास छ ।