अस्ट्रेलिया अवाड्र्समार्फत १९ नेपाली विद्यार्थीलाई स्नातकोत्तर अध्ययनका लागि छात्रवृत्ति प्रदान

आप्रवासन आप्रवासन

अस्ट्रेलियाले १२ मंसिर २०८२ मा १९ नेपाली विद्यार्थीलाई अस्ट्रेलिया अवाड्र्स छात्रवृत्ति प्रदान गरेको छ। नेपालका लागि अस्ट्रेलियाली राजदूत लियन जोन्स्टन र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव चूडामणि पौडेलले संयुक्त रूपमा छात्रवृत्ति वितरण गरे। प्रतिष्ठित मानिने यो छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूले सन् २०२६ देखि अस्ट्रेलियाका विश्वस्तरीय विश्वविद्यालयहरूमा स्नातकोत्तर अध्ययन सुरु गर्नेछन्। चयनित १९ मध्ये १३ जना सार्वजनिक सेवक, ११ जना महिला र २ जना अपांगता भएका विद्यार्थी छन्।

समारोहलाई सम्बोधन गर्दै सचिव पौडेलले अस्ट्रेलियाको दीर्घकालीन सहयोगप्रति नेपाल सरकार कृतज्ञ रहेको बताए। उनले अस्ट्रेलियामा प्राप्त ज्ञान, सीप र अन्तर्राष्ट्रिय सम्पर्कहरूले विद्यार्थीको व्यक्तिगत तथा पेशागत विकास मात्र नभई नेपालको सेवा र समग्र विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे। राजदूत जोन्स्टनले विद्यार्थीहरूलाई बहुसांस्कृतिक अस्ट्रेलियाको विविधता, समृद्धि र सिकाइका अवसरहरूको अधिकतम उपयोग गर्न आग्रह गरे। उनले अस्ट्रेलिया अवाड्र्स कार्यक्रमले दुवै देशबीचको साझेदारी, समावेशीकरण तथा नेतृत्व विकासप्रतिको प्रतिबद्धता झल्काएको बताए।

अस्ट्रेलियाली विदेश मन्त्रालयद्वारा सञ्चालित यो छात्रवृत्ति कार्यक्रमले नेतृत्व क्षमतायुक्त विद्यार्थीलाई उच्च शिक्षा र अनुसन्धान मार्फत परिवर्तनकारी कौशल विकास गर्ने अवसर प्रदान गर्छ। धेरै पूर्वविद्यार्थी आज नेपालका सरकारी, निजी तथा सामाजिक क्षेत्रका नेतृत्व भूमिकामा कार्यरत छन्। सन् १९५० को कोलम्बो प्लानबाट सुरु भएको अस्ट्रेलियाको छात्रवृत्ति परम्परामार्फत विश्वभरका एक लाखभन्दा बढी विद्यार्थी लाभान्वित भइसकेका छन्। एक हजार तीन सयभन्दा बढी नेपालीले अस्ट्रेलिया अवाड्र्समार्फत अध्ययन गरिसकेका छन्। कार्यक्रमको आगामी आवेदन सन् २०२६ फेब्रुअरीमा खुल्नेछ।