लिपुलेक र नाथुला नाका हुँदै कैलाश मानसरोवर यात्रा गराउँदै भारत, अनलाइन आवेदन खुला

आप्रवासन आप्रवासन

भारतको विदेश मन्त्रालयले सन् २०२६ को कैलाश मानसरोवर यात्राको घोषणा गरेको छ । चीन सरकारसँगको समन्वयमा भारतले आगामी जुनदेखि अगस्ट महिनासम्म उक्त धार्मिक यात्रा सञ्चालन गर्न लागेको हो ।

यस वर्षको यात्राका लागि दुईवटा मार्ग तय गरिएका छन् । उत्तराखण्ड राज्यको लिपुलेक भञ्ज्याङ हुँदै ५० जनाको दरले १० वटा समूह र सिक्किम राज्यको नाथुला भञ्ज्याङ हुँदै ५० जनाकै दरले थप १० वटा समूह मानसरोवर जानेछन् । यसरी यो वर्ष दुई फरक नाकाबाट कुल एक हजार तीर्थयात्रीले कैलाश मानसरोवरको दर्शन गर्नेछन् ।

यात्रामा सहभागी हुन चाहनेका लागि ‘kmy.gov.in’ वेबसाइटमार्फत अनलाइन आवेदन खुला गरिएको छ । तीर्थयात्रीको छनोट पूर्ण रूपमा कम्प्युटर प्रणालीबाट, निष्पक्ष, र्यान्डम र लैङ्गिक सन्तुलन मिलाएर गरिने भारतीय विदेश मन्त्रालयले जनाएको छ । 

आवेदनदेखि छनोटसम्मको सम्पूर्ण प्रक्रिया अनलाइनबाटै हुने भएकाले जानकारी लिन वा आवेदन दिन कुनै पनि चिठीपत्र वा फ्याक्स पठाइरहनु नपर्ने स्पष्ट पारिएको छ । आवश्यक जानकारी लिन वा सुझाव दिन वेबसाइटमै रहेको फिडब्याक विकल्प प्रयोग गर्न सकिनेछ ।

आवेदकहरूले आफ्नो प्राथमिकताअनुसार दुवै मार्ग वा कुनै एउटा मात्र मार्ग छनोट गरेर फारम भर्न सक्नेछन् । मन्त्रालयका अनुसार अनलाइन आवेदन दर्ता गर्ने अन्तिम मिति आगामी मे १९ (२०२६) सम्म तोकिएको छ ।

685586317_1483976309841590_7062187029188185762_n