कम्बोडियामा अलपत्र नेपालीको विवरण संकलन गर्न दूतावासको विशेष पोर्टल

संकलित विवरण उद्धार तथा सरकारी प्रयोजनका लागि मात्र प्रयोग गरिने स्पष्ट गरिएको छ।

संगम पहरी संगम पहरी

कम्बोडियामा विभिन्न अवस्थामा रहेका नेपाली नागरिकहरूको पहिचान र उद्धार प्रक्रिया प्रभावकारी बनाउन बैंककस्थित नेपाली राजदूतावासले विशेष अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ। दूतावासका अनुसार कम्बोडियामा रहेका नेपालीहरूको यथार्थ अवस्था बुझ्न तथा आवश्यक परे उद्धार गर्न सहज होस् भन्ने उद्देश्यले उक्त फाराम तयार गरिएको हो। संकलित विवरण उद्धार तथा सरकारी प्रयोजनका लागि मात्र प्रयोग गरिने स्पष्ट गरिएको छ।

Link

पछिल्लो समय आकर्षक तलबको प्रलोभनमा भिजिट भिसामा कम्बोडिया पुगेका नेपालीहरू बन्धक बन्ने, जबर्जस्ती अनलाइन ठगीमा संलग्न गराइने जस्ता घटनाहरू बढ्दै गएका छन्। यस्तो समस्यामा परेका नेपालीहरूको उद्धारका लागि नेपाली राजदूतावासले कम्बोडिया सरकारसँग समन्वय गर्दै निरन्तर प्रयास गरिरहेको जनाएको छ।

त्यस्तै, स्क्यामिङ केन्द्रहरूमा कार्यरत नेपालीहरूको राहदानी कम्पनीहरूले जफत गर्ने वा स्थानान्तरणका क्रममा हराउने गुनासो पनि बढेको दूतावासले जनाएको छ। राहदानी नभई अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउन दूतावासले निःशुल्क एकतर्फी यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) उपलब्ध गराउँदै आएको छ।

दूतावासले अझै पनि कठिन अवस्थामा रहेका नेपालीहरूलाई सम्पर्कमा आउन आग्रह गर्दै उद्धार प्रक्रिया निरन्तर जारी रहेको जनाएको छ। आवश्यक जानकारी तथा सहयोगका लागि दूतावासले उपलब्ध गराएको ह्वाट्सएप नम्बरमार्फत सम्पर्क गर्न पनि अनुरोध गरिएको छ।