वैदेशिक रोजगारीका नाममा लाखौँ ठग्ने र फरार सूचीमा रहेका ४ जना पक्राउ

आप्रवासन आप्रवासन

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले वैदेशिक रोजगारीको प्रलोभन देखाएर लाखौँ रुपैयाँ ठगी गर्ने तीन जना र अदालतबाट सजाय तोकिएर फरार रहेकी एक महिलालाई पक्राउ गरेको छ। 

आकर्षक तलबको लोभ देखाएर विभिन्न मुलुक पठाइदिने भन्दै रकम कुम्ल्याएर फरार भएका तीन जनालाई प्रहरीले विभिन्न स्थानबाट समातेको हो।

पक्राउ पर्नेमा सोलुखुम्बु घर भई बुढानीलकण्ठ बस्ने ३१ वर्षीय शक्ति राई, सिन्धुपाल्चोक घर भई बुढानीलकण्ठ बस्ने ३९ वर्षीया विमला दोङ र काठमाडौँ गोकर्णेश्वरका ३१ वर्षीय रोशन तामाङ छन्। शक्तिले न्यूजिल्याण्ड पठाइदिने बहानामा एक पीडितबाट १ लाख ९५ हजार रुपैयाँ ठगेका थिए। 

यस्तै बिमलाले अजरबैजान पठाइदिन्छु भन्दै दुई जनाबाट १३ लाख ६० हजार रुपैयाँ र रोशनले क्यानडा पठाइदिने प्रलोभनमा एक जनाबाट २४ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए। पीडितहरूको उजुरीका आधारमा प्रहरीले शक्तिलाई बुढानिलकण्ठबाट, बिमलालाई ग्वार्कोबाट र रोशनलाई गोकर्णेश्वरबाट नियन्त्रणमा लिएको हो। उनीहरूलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।

यसैगरी, वैदेशिक रोजगार ठगी मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेकी धादिङ धुनिवेशी घर भई भक्तपुर कमेरोटार बस्ने ४६ वर्षीया रोशना चापागाई पनि पक्राउ परेकी छिन्। 

वैदेशिक रोजगार न्यायाधिकरणको २०८१ वैशाख ३० गतेको फैसलाले उनलाई डेढ वर्ष कैद र १ लाख ५० हजार रुपैयाँ जरिवाना सुनाएको थियो। फैसलापछि फरार रहेकी रोशनालाई प्रहरीले कमेरोटारबाटै पक्राउ गरी सजाय भुक्तानका लागि काठमाडौँ जिल्ला अदालतमा बुझाएको छ।