अब सार्वजनिक बिदामा पनि पर्यटकले पाउने भए पदयात्रा अनुमति

आप्रवासन आप्रवासन

सरकारले अब सार्वजनिक बिदाका दिन पनि विदेशी पर्यटकलाई पदयात्रा अनुमति दिने व्यवस्था लागू गरेको छ। अध्यागमन विभागले बुधवार सूचना जारी गर्दै शनिवार बाहेकका सार्वजनिक बिदामा समेत ट्रेकिङ परमिट उपलब्ध गराइने जनाएको हो।

विभागका प्रवक्ता टीकाराम ढकालका अनुसार अब सार्वजनिक बिदाका दिन बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म दुई घण्टा पदयात्रा अनुमति सेवा सञ्चालन हुनेछ। सरकारले ट्रेकिङ एजेन्सी र विदेशी पर्यटकलाई सहजता प्रदान गर्दै अनुमति प्रक्रियालाई छरितो, सरल र अनुमानयोग्य बनाउन यस्तो निर्णय गरेको जनाएको छ।

नेपालका १३ जिल्लामा रहेका निषेधित क्षेत्रमा पदयात्रा गर्न विदेशी नागरिकले अध्यागमन विभागबाट विशेष अनुमति लिनुपर्ने व्यवस्था छ। हाल ट्रेकिङ अनुमति सम्बन्धी सम्पूर्ण प्रक्रिया अनलाइन प्रणालीमार्फत सञ्चालन भइरहेको छ।

पर्यटन व्यवसायीहरूले यो निर्णयले विदेशी पर्यटकलाई सहजता हुने र नेपालको पर्यटन क्षेत्रलाई थप सकारात्मक सन्देश जाने बताएका छन्। विशेष गरी बिदाको दिन अनुमति नपाउँदा यात्रा तालिका प्रभावित हुने समस्या अब कम हुने अपेक्षा गरिएको छ।