मलेसियाले सन् २०३० सम्म न्यूनतम मासिक तलब RM3,000 पुर्याउने लक्ष्य सार्वजनिक गरेको छ। १३औँ मलेसिया योजना (13MP) अन्तर्गत श्रम सुधार कार्यक्रमको भागका रूपमा यो लक्ष्य अघि सारिएको हो।
बुकित जालिलमा आयोजित राष्ट्रिय श्रमिक दिवस समारोहमा मानव संसाधन मन्त्री डाटुक सेरी आर. रमणनले श्रम क्षेत्रलाई थप गतिशील, प्रतिस्पर्धी र दिगो बनाउने उद्देश्यसहित सरकारले सुधार अघि बढाएको बताए। उनका अनुसार न्यूनतम तलब बढाएर कम सीप भएका रोजगारीमाथिको निर्भरता घटाउने सरकारको योजना छ।
उनले आउँदो जुन महिनादेखि ‘लिन्डुंग २४ जम’ योजना लागू हुने जानकारी पनि दिए। यो योजनाअन्तर्गत ९.६ मिलियन कर्मचारीले २४ घण्टा सुरक्षा पाउनेछन्, जसमा कामको समयबाहिर हुने दुर्घटनाहरू पनि समेटिनेछन्।
“यो केवल नीति मात्र होइन, नागरिकप्रति सरकारको प्रतिबद्धता हो,” मन्त्री रमणनले भने।
यसैगरी, गृहिणी सामाजिक सुरक्षा योजना (SKSSR) को उमेर हद ५५ बाट बढाएर ६० वर्ष पुर्याइने घोषणा गरिएको छ। यो निर्णयबाट ७ लाख २० हजारभन्दा बढी महिलाहरू लाभान्वित हुने अनुमान गरिएको छ।
मन्त्रीका अनुसार गृहिणीहरूले बालबालिका, अभिभावक र बिरामी परिवार सदस्यहरूको हेरचाह गरेर ठूलो योगदान दिइरहेका छन्। उनले उनीहरूलाई उचित सुरक्षा प्रदान गर्ने समय आएको बताए।
मलेसियाले १३औँ योजना अन्तर्गत प्रविधिमैत्री र आधुनिक श्रमशक्ति निर्माण गर्ने लक्ष्य पनि अघि सारेको छ।