अमेरिकी प्रशासनले उच्च जोखिमयुक्त देशका नागरिकमाथि लगाइएको आप्रवासन आवेदन रोकमध्ये चिकित्सकहरूका लागि आंशिक छुट दिएको छ ।
यससँगै विदेशी डाक्टरहरूको भिसा वा ग्रीन कार्ड नवीकरण प्रक्रिया अघि बढ्ने सम्भावना बढेको छ । अमेरिकी प्रशासनले गत वर्षदेखि अफगानिस्तान, इरान, भेनेजुएला लगायत ३९ देशका नागरिकका ग्रीन कार्ड र भिसा आवेदनको समीक्षा रोक्दै आएको थियो। यस वर्ष थप ७५ भन्दा बढी देशका नागरिकका केही आवेदन पनि रोकिएका छन् । प्रशासनले यसलाई राष्ट्रिय सुरक्षासँग जोड्दै कडा जाँच आवश्यक भएको बताएको छ ।
चिकित्सक सङ्घहरू र आप्रवासन वकिलहरूले अमेरिकामा डाक्टर अभाव रहेको र विदेशी प्रशिक्षित चिकित्सकहरूले विशेष गरी ग्रामीण तथा सेवाविहीन क्षेत्रमा काम गरिरहेको भन्दै छुट दिन माग गर्दै आएका थिए । त्यसपछि प्रशासनले चिकित्सकहरूलाई समीक्षा प्रक्रियामा फर्काउने निर्णय गरेको हो । यद्यपि, यो छुटले आवेदन स्वीकृत हुने ग्यारेन्टी भने गर्दैन । आवेदन समयमै प्रक्रिया हुने वा नहुने अझै स्पष्ट छैन ।
यसैबिच रोक अझै अन्य हजारौँ आप्रवासीमाथि लागू छ । उनीहरू काम गर्न, स्वास्थ्य बीमा लिन वा ड्राइभर लाइसेन्स प्राप्त गर्न नसक्ने अवस्थामा छन् । देश छाडे पुनः प्रवेश गर्न नपाउने डर पनि छ । इरानी चिकित्सक डा. जाहरा शोक्री वर्णियाबले आफ्नो आवेदन अड्किएपछि अदालतमा मुद्दा दायर गरेकी थिइन् । अदालतको आदेशपछि आवेदन समीक्षा गरिए पनि अन्ततः अस्वीकृत भयो । उनले यो निर्णय आफूले मुद्दा दायर गरेकै कारण आएको आशङ्का व्यक्त गरेकी छिन् । अर्का इरानी अनुसन्धानकर्ता कावेह जाभानशिरजाभिदले रोजगार अनुमति नपाउँदा जागिर सुरु गर्न नसकेको बताएका छन् । “मेरो सम्पूर्ण जीवन रोकिएको छ,” उनले भने।