सगरमाथा, ल्होत्से र नुप्से हिमालको आरोहणका लागि पुगेका पर्वतारोही दलका सदस्य, सरदार, पर्वतीय पथप्रदर्शक, भरिया, भान्से र उचाइमा जाने कामदारको जमघटले यतिबेला सगरमाथा आधार शिविर सानो सहर जस्तै बनेको छ ।
अग्ला शिखरको फेदीमा आरोहीको बास व्यवस्थापनका लागि चट्टानी भूभागमा फैलिएका सयौँ रङ्गीचङ्गी पाल र ध्वजा, आधार शिविरमा दैनिक दर्जनौँ पटक हुने हेलिकोप्टरको ओहोरदोहोर, टेन्टभित्र बालिएका बत्ती र सङ्गीतको धुनले कठोर हिमगल्छी एउटा अस्थायी सहर जस्तो भएको छ । आरोहण सहजीकरणका लागि अस्थायी फिल्ड कार्यालय खुम्बुमा खटिएका ज्ञानेन्द्र श्रेष्ठका अनुसार शिखर चुम्ने एउटै सपना बोकेर संसारभरबाट आएका आरोही तथा सहयोगीलगायत करिब दुई हजार जना त्यहाँ छन् ।
मौसमले साथ दिए मङ्गलबारसम्म सगरमाथाको चुचुरोसम्मको बाटो तयार हुने जानकारी दिँदै उहाँले यस याममा सगरमाथा, ल्होत्से र नुप्से आरोहणको अनुमति लिएका ५६ समूहका छ सयभन्दा बढी आरोही र सहयोगीको चहलपहल रहेको बताउनुभयो । पर्यटन विभागका निर्देशक हिमाल गौतमका अनुसार वसन्तकालीन पर्वतारोहणका लागि यस वर्ष सगरमाथामा आरोहीको सङ्ख्या र राजस्व सङ्कलनका हिसाबले नयाँ इतिहास रचेको छ ।
गत फागुन १७ देखि शुक्रबारसम्म सगरमाथा आरोहण गर्न ५० समूहका ४९२, ल्होत्से आरोहण गर्न १० समूहका १२० र नुप्से आरोहण गर्न छ समूहका ५६ जनाले अनुमति लिएको जानकारी दिँदै उहाँले उक्त सङ्ख्या हालसम्मकै सर्वाधिक रहेको बताउनुभयो । उहाँका अनुसार यसअघि सगरमाथा आरोहण गर्न सन् २०२३ मा सर्वाधिक ४७८ जनाले अनुमति लिएकामा यस वर्ष उक्त रेकर्डलाई उछिन्दै शुक्रबारसम्म ४९२ जनाले अनुमति लिएका छन् । साथै यस वर्ष सगरमाथा आरोहणको अनुमति दिएबापत एक अर्ब सात करोड ४० लाख ९५ हजार ४७५ रुपियाँ राजस्व सङ्कलन भएको छ । जुन इतिहासकै सर्वाधिक हो ।”
अझै पनि केही कम्पनी अनुमति लिने क्रममा रहेको बताउँदै उहाँले यो याममा सगरमाथा आरोहणका लागि उत्साहवर्धक रूपमा आरोही आएको जानकारी दिनुभयो । विभागका अनुसार यस याममा सगरमाथासहित ३० वटा हिमाल आरोहण गर्न नेपालसहित ७९ देशका एक हजार १३४ जनाले अनुमति लिएका छन् । जसमध्ये सगरमाथा आरोहण गर्न मात्रै ५५ देशका आरोही चुचुरोसम्मको बाटो खुल्ने प्रतीक्षामा छन् । ३० वटा हिमाल आरोहण गर्न दिएको अनुमतिबापत यस याममा एक अर्ब २४ करोड ४१ लाख २१ हजार ९५४ रुपियाँ राजस्व सङ्कलन भएको विभागले जनाएको छ ।
यस वर्ष सगरमाथा आरोहण गर्न सबैभन्दा बढी चीनबाट १०९ जनाले अनुमति लिएका छन् । यस याममा चीनको चाइना तिब्बत माउन्टनियरिङ एसोसिएसन (सिटिएमए) ले उत्तरी मोहडाबाट हुने आरोहणका लागि अनुमति जारी नगरेपछि सगरमाथामा आरोहीको सङ्ख्यामा थप उत्साह आएको हो । त्यस्तै यस वर्ष सगरमाथा आरोहणका लागि प्रतिव्यक्ति चार हजार अमेरिकी डलर आरोहण दस्तुर बढेकाले राजस्व आम्दानीले समेत इतिहास रचेको विभागले जनाएको छ ।