वैदेशिक रोजगार विभागले ललितपुरको जावलाखेलस्थित Noon Resources Pvt. Ltd. बाट बरामद गरिएको ७ लाख ९० हजार रुपैयाँ सम्बन्धित व्यक्तिलाई फिर्ता गरिने जनाएको छ।
विभागले जारी गरेको सूचनाअनुसार अनुगमन टोलीले २०८३ असोज २५ गते उक्त म्यानपावर कम्पनीमा अनुगमन गर्दा नगद ७ लाख ९० हजार रुपैयाँ बरामद गरेको थियो।
विभागका अनुसार वैदेशिक रोजगारीमा जानका लागि कसैले सोही दिन कम्पनीमा रकम बुझाएको भए सात दिनभित्र प्रमाणसहित वैदेशिक रोजगार विभागमा निवेदन दिन आग्रह गरिएको छ।
रकम बुझाएको प्रमाण पेश गर्ने व्यक्तिलाई आवश्यक प्रक्रिया पूरा गरी रकम फिर्ता गरिने विभागले जनाएको छ।
वैदेशिक रोजगार विभागले पछिल्लो समय वैदेशिक रोजगारीका नाममा हुने ठगी तथा अवैध रकम असुली नियन्त्रण गर्न अनुगमनलाई तीव्र बनाएको जनाएको छ।
