चालु आर्थिक वर्ष २०८२/८३ को ९ महिनामा नेपाल भित्रिने रेमिट्यान्स (विप्रेषण आप्रवाह) मा उत्साहजनक वृद्धि देखिएको छ ।
नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चैत मसान्तसम्मको वित्तीय प्रतिवेदन अनुसार समीक्षा अवधिमा रेमिट्यान्स ३९.१ प्रतिशतले बढेर १६ खर्ब ५९ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह १०.२ प्रतिशतले मात्र बढेको थियो। यस वर्ष नेपाली रुपैयाँमा मात्र नभई अमेरिकी डलरमा समेत रेमिट्यान्सको वृद्धिदर उच्च देखिएको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३१.९ प्रतिशतले वृद्धि भई ११ अर्ब ५५ करोड डलर पुगेको छ ।
चैत महिनामा मात्रै २ खर्ब ९ अर्ब ७५ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ। अघिल्लो वर्षको चैत महिनामा १ खर्ब ३८ अर्ब ५४ करोड रुपैयाँ मात्र रेमिट्यान्स भित्रिएको थियो ।
९ महिनाको अवधिमा अन्तिम श्रम स्वीकृति (नयाँ) लिने नेपालीको सङ्ख्या २ लाख ९४ हजार १८६ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २ लाख ९३ हजार २५९ रहेको छ ।