नौ महिनामा १ हजार भन्दा बढी नेपालीको वैदेशिक रोजगारीको क्रममा मृत्यु

आप्रवासन आप्रवासन

 घरको आर्थिक अवस्था सुधार्ने आशामा हरेक दिन हजारौँ नेपाली युवा वैदेशिक रोजगारीका लागि विदेशिने गरेका छन्। तर धेरैका लागि यही सपना जीवनको अन्तिम यात्रामा परिणत भइरहेको  छ।

वैदेशिक रोजगार बोर्डका अनुसार चालु आर्थिक वर्ष २०८२—८३ को साउनदेखि वैशाख २८ गतेसम्म वैदेशिक रोजगारीका क्रममा १ हजार २७३ नेपालीको मृत्यु भएको छ।  औसतमा दैनिक चार जनाको शव विदेशबाट नेपाल फर्किने गरेको छ।

बोर्डका अनुसार मृत्युका प्रमुख कारणमा सडक दुर्घटना, कार्यस्थल दुर्घटना, हृदयाघात, मिर्गौला फेल, क्यान्सर तथा आत्महत्या रहेका छन्। विशेषगरी खाडी मुलुक र मलेसियामा कार्यरत नेपाली श्रमिकहरू अत्यधिक गर्मी, असुरक्षित कार्यस्थल, मानसिक तनाव तथा पर्याप्त आरामको अभावका कारण विभिन्न स्वास्थ्य समस्याबाट प्रभावित हुने गरेका छन्। 

 यस्तै देशभित्र पर्याप्त रोजगारीको अवसर नहुँदा युवाहरू विदेशिन बाध्य भएका छन्। श्रम स्वीकृति लिएर सुरक्षित रूपमा विदेश जान तथा आवश्यक सीप र जानकारी हासिल गरेर मात्र रोजगारीमा जान विज्ञहरूले सुझाव दिएका छन्। हाल  बोर्डले मृतकका परिवारलाई १० लाख रुपैयाँसम्म आर्थिक सहायता उपलब्ध गराउने व्यवस्था समेत गरेको छ।