सर्बिया पठाइदिन्छु भन्दै ठगी गर्ने  इन्टरपोलको सहयोगमा पक्राउ

आप्रवासन आप्रवासन

 

वैदेशिक रोजगार ठगी मुद्दामा संलग्न रही फरार रहेका पाँचथरका एक व्यक्तिलाई इन्टरपोलको सहयोगमा युएईबाट पक्राउ गरी नेपाल ल्याइएको छ। 

पक्राउ पर्नेमा पाँचथरको मिक्लाजुङ गाउँपालिका-५ घर भएका ३६ वर्षीय सुवास लावती रहेका छन्। उनलाई एनसीबी अबुधाबी युएईको समन्वयमा पक्राउ गरी थप कारबाहीका लागि बिहीबार नेपाल फिर्ता ल्याइएको नेपाल प्रहरीले जनाएको छ। लावतीले वैदेशिक रोजगारीका क्रममा आकर्षक तलबको प्रलोभन देखाएर पीडितलाई सर्बिया पठाइदिने आश्वासन दिएका थिए। उनले विभिन्न मितिमा पीडितको ११ लाख ६१ हजार रुपैयाँ बैंक खातामा जम्मा गर्न लगाएर पछि सम्पर्कविहीन भई ठगी गरेको आरोप रहेको छ। 

ठगी मुद्दामा संलग्न भएर विदेशमा फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास गरी पक्राउ गर्न नेपाल प्रहरीको इन्टरपोल शाखाले अनुरोध गरेको थियो। सोही अनुरोधका आधारमा इन्टरपोल महासचिवालयले २०८२ साउन २६ गते लावती विरुद्ध रेड नोटिस जारी गरेको थियो। पक्राउ परेका लावतीलाई आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, तहाचल काठमाडौंमा बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जानकारी दिएको छ।  इन्टरपोलको रेड नोटिस जारी भएको करिब ९ महिनापछि उनलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन प्रहरी सफल भएको हो।