इजरायल जान चाहने नेपाली श्रमिकका लागि खुसीको खबर आएको छ। इजरायलले दीर्घकालीन स्याहार केन्द्रमा काम गर्नेगरी नेपालबाट थप २ हजार ३ सय सहायक श्रमिक लैजाने तयारी गरेको छ।
वैदेशिक रोजगार विभागले इजरायलबाट प्राप्त नयाँ कोटाअनुसार छिट्टै आवेदनसम्बन्धी सूचना सार्वजनिक गर्ने तयारी भइरहेको जनाएको छ।
जापानी सञ्चारमाध्यमका अनुसार इजरायलको जनसंख्या तथा अध्यागमन प्राधिकरण (PIVA) ले गत फेब्रुअरीमै नयाँ कोटा नेपाल पठाएको थियो। तर नेपालमा भएको निर्वाचन र पश्चिम एसियामा बढेको तनावका कारण प्रक्रिया केही समय रोकिएको बताइएको छ।
वैदेशिक रोजगार विभागकी महानिर्देशक मीरा आचार्यका अनुसार श्रम मन्त्रालयबाट नयाँ प्रक्रिया अघि बढाउन निर्देशन प्राप्त भइसकेको छ। अब छिट्टै आवेदन आह्वान गरिने तयारी भइरहेको छ।
यसअघि दोस्रो चरणमा ३ हजार २ सय ६२ जनामध्ये लक्की ड्रमार्फत २ हजार १ सय १२ जना छनोट भएका थिए। तीमध्ये करिब १ हजार ९ सय नेपाली इजरायल पुगिसकेका छन्।
यस पटक अघिल्लो लक्की ड्रमा छनोट हुन नसकेका १ हजार १५४ जनाले पनि पुनः आवेदन दिन पाउने भएका छन्। तर उनीहरूले तोकिएको अंग्रेजी भाषा परीक्षा भने अनिवार्य रूपमा पास गर्नुपर्नेछ।
इजरायलमा केयरगिभर क्षेत्रमा रोजगारीका लागि थप अवसर खुल्ने भएपछि वैदेशिक रोजगारीको तयारीमा रहेका नेपाली युवाहरूमा उत्साह बढेको छ।