वैदेशिक रोजगारीमा जाने सेवाग्राहीका लागि वैदेशिक रोजगार विभागले महत्वपूर्ण नयाँ सुविधा सुरु गरेको छ। अब श्रम स्वीकृतिका लागि अनलाइन आवेदन गर्दा FEIMS प्रणालीको पासवर्ड बिर्सिए सेवाग्राहीले आफैँ पासवर्ड Reset गर्न सक्ने भएका छन्।
वैदेशिक रोजगार विभागले जारी गरेको सूचनाअनुसार वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (FEIMS) सञ्चालनमा रहेको भए पनि धेरै सेवाग्राहीले पासवर्ड बिर्सिने समस्या भोगिरहेका थिए। सोही समस्यालाई समाधान गर्न विभागले नयाँ व्यवस्था लागू गरेको जनाएको छ।
अब सेवाग्राहीले आफ्नो जन्म मिति (Date of Birth) र राहदानी जारी मिति (Passport Issue Date) प्रयोग गरेर आफैँ आफ्नो पासवर्ड Reset गर्न सक्नेछन्।
त्यस्तै, सेवाग्राहीको सुविधाका लागि गन्तव्य मुलुकको कम्पनीको नाम पनि प्रणालीमा आफैँ थप (Company Adding) गर्न सकिने सुविधा उपलब्ध गराइएको विभागले जनाएको छ।
विभागले आफ्नो प्रोफाइलको सुरक्षामा विशेष ध्यान दिन आग्रह गर्दै राहदानी (Passport) को फोटो वा विवरण अन्य व्यक्तिलाई उपलब्ध नगराउन पनि अनुरोध गरेको छ।
साथै, कम्पनीको नाम थप गर्दा वैदेशिक रोजगारसम्बन्धी आधिकारिक कागजातमा उल्लेख भएको कम्पनीको नाम मात्र राख्न विभागले आग्रह गरेको छ।
विभागको यो नयाँ सुविधाले सेवाग्राहीलाई अनलाइन प्रक्रिया सहज बनाउन, समय बचत गर्न र बिचौलियामाथिको निर्भरता घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
