कङ्गो सरकारका प्रवक्ताका अनुसार इबोलाका घटना अहिले थप क्षेत्रमा फैलिन थालेका छन् । नयाँ संक्रमित न्याकुन्डे, बुटेम्बो तथा गोमा क्षेत्रमा पनि भेटिएका छन् ।
यसैबीच, छिमेकी युगान्डामा पनि दुई जनामा इबोला संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)ले जनाएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले हाल फैलिएको इबोलाको यो प्रकारलाई अन्तर्राष्ट्रिय स्वास्थ्य आपत्काल घोषणा गरेको छ । यो संक्रमण बुन्डिबुग्यो भाइरसका कारण फैलिएको बताइएको छ ।
स्वास्थ्य टोलीहरूले संक्रमितको खोजी, परीक्षण तथा निगरानीलाई तीव्र बनाइरहेको भन्दै कङ्गो सरकारले सर्वसाधारणलाई नआत्तिन आग्रह गरेको छ । यस प्रकोपमा कङ्गोमा कार्यरत एक अमेरिकी डाक्टर पनि संक्रमित भएका छन् । मेडिकल मिसनरी समूह सर्जका अनुसार अमेरिकी चिकित्सक पिटर स्ट्याफोर्डमा इबोला पुष्टि भएको हो । उनलाई उपचारका लागि जर्मनी लगिने बताइएको छ ।
उनकी पत्नी डा. रेबेका स्ट्याफोर्डसहित अन्य दुई चिकित्सक पनि संक्रमित बिरामीको उपचारका क्रममा सम्पर्कमा आएका थिए । यद्यपि उनीहरूमा हालसम्म कुनै लक्षण नदेखिएको र क्वारेन्टिनमा राखिएको जानकारी दिइएको छ । अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार कम्तीमा छ जना अमेरिकी नागरिक इबोला भाइरसको सम्पर्कमा आएको आशंका गरिएको छ । सीडीसीले प्रभावित अमेरिकी नागरिकलाई सुरक्षित रूपमा बाहिर निकाल्ने काम भइरहेको जनाएको छ ।