यो कोष अघिल्लो प्रशासनका पालामा आफूलाई राजनीतिक रूपमा निशाना बनाइएको दाबी गरेका व्यक्तिहरूलाई राहत दिन बनाइएको बताइएको छ । ट्रम्प प्रशासनले यसलाई “राजनीतिक दुरुपयोगविरुद्धको कोष” नाम दिएको छ । यो निर्णय ट्रम्पले आन्तरिक राजस्व सेवा (आईआरएस) विरुद्ध दायर गरेको १० अर्ब डलरको मुद्दा फिर्ता लिएलगत्तै आएको हो । ट्रम्प र उनका छोराहरू डोनाल्ड ट्रम्प जुनियर र एरिक ट्रम्पले जनवरीमा आईआरएस र अमेरिकी ट्रेजरी विभागविरुद्ध मुद्दा दायर गरेका थिए । उक्त मुद्दामा ट्रम्प पक्षले आफ्नो कर विवरण गोप्य राख्न आईआरएस असफल भएको आरोप लगाएको थियो ।
ट्रम्प तथा ट्रम्प अर्गनाइजेशनको करसम्बन्धी गोप्य विवरण चुहावट भएपछि कानुनी कारबाही अघि बढाइएको थियो । यस प्रकरणमा आईआरएसका पूर्व ठेकेदार चाल्र्स लिटनजोनलाई ट्रम्प तथा हजारौं अन्य व्यक्तिको कर विवरण चुहाएको आरोपमा पाँच वर्षको जेल सजाय सुनाइएको थियो । अमेरिकी न्याय मन्त्रालयका अनुसार ट्रम्प स्वयंले भने उक्त कोषबाट कुनै आर्थिक लाभ लिने छैनन् । तर उनले औपचारिक रूपमा माफीपत्र प्राप्त गर्नेछन् । ट्रम्पले सोमबार ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै आफ्ना समर्थकहरू निर्दयी व्यवहारको शिकार बनेको दाबी गरेका थिए ।
उनले भने, “उनीहरूलाई अत्यन्त नराम्रो व्यवहार गरिएको थियो । उनीहरूले कानुनी खर्च र धेरै पीडा सहनुपर्यो । अहिले त्यसको क्षतिपूर्ति दिइँदैछ ।” न्याय मन्त्रालयका अनुसार पाँच सदस्यीय आयोगले उक्त कोष सञ्चालन गर्नेछ । आयोगका सदस्यहरूको नाम अझै सार्वजनिक गरिएको छैन । तर एउटा महत्वपूर्ण पक्ष के हो भने आयोगका सदस्य हटाउने अधिकार राष्ट्रपति ट्रम्पसँग रहनेछ । यसले कोषको स्वतन्त्रतामाथि प्रश्न उठाएको छ ।
दाबी पेश गर्न कुनै दलगत शर्त नरहने पनि मन्त्रालयले जनाएको छ । आवेदन प्रक्रिया सन् २०२८ डिसेम्बर १५ सम्म खुला रहनेछ, जुन ट्रम्पको दोस्रो कार्यकाल सकिनुभन्दा एक महिना अघिको समय हो । ट्रम्पले विगत केही वर्षदेखि आफ्ना समर्थकहरूलाई राजनीतिक रूपमा सताइएको बताउँदै आएका छन् । यसमा सन् २०२१ जनवरी ६ मा अमेरिकी संसद भवन क्यापिटलमा भएको आक्रमणसँग सम्बन्धित करिब १ हजार ६०० अभियुक्तहरू पनि पर्न सक्ने विश्लेषण गरिएको छ । यसका साथै ट्रम्पले रुसी मिलेमतो अनुसन्धानलगायत विभिन्न कानुनी अनुसन्धानलाई पनि राजनीतिक प्रतिशोधका रूपमा चित्रण गर्दै आएका छन् ।
ट्रम्पका निकट सहयोगी तथा माइपिलोका संस्थापक माइक लिन्डेलले आफू पनि उक्त कोषबाट लाभ लिन सक्ने बताएका छन् । उनले सीएनएनसँगको कुराकानीमा भने, “माइपिलो इतिहासकै सबैभन्दा बढी आक्रमण भएको कम्पनी हो । कम्पनीका कर्मचारीहरूले न्याय पाउनुपर्छ ।” यो निर्णयप्रति डेमोक्रेटिक नेताहरू, कानुनी विज्ञहरू तथा निगरानी संस्थाहरूले तीव्र आलोचना गरेका छन् । सिनेटमा अल्पमतका नेता चक शूमरले यसलाई “अत्यन्त भ्रष्ट र नैतिक रूपमा पतित कदम” भनेका छन् । उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “ट्रम्पले आफ्नै समर्थकहरूलाई सरकारी पैसाबाट अरबौं डलर बाँड्न खोजिरहेका छन् । यो उनको सबैभन्दा भ्रष्ट कदममध्ये एक हो ।”
त्यस्तै, नागरिक अधिकारसम्बन्धी संस्था पब्लिक सिटिजनका सह-अध्यक्षहरू लिसा गिल्बर्ट र रोबर्ट वेसम्यानले यो योजनालाई “जनवरी ६ भुक्तानी कोष”को संज्ञा दिएका छन् । यो कोष कानुनी रूपमा टिकाउ हुन्छ वा हुँदैन भन्ने विषय अहिले प्रमुख बहस बनेको छ । ट्रम्पले मुद्दा दायर गरेपछि जिल्ला न्यायाधीश क्याथरिन विलियम्सले नै राष्ट्रपति स्वयंले आफ्नो नियन्त्रणमा रहेको सरकारी निकायविरुद्ध व्यक्तिगत क्षतिपूर्ति माग्नु उपयुक्त हो वा होइन भन्नेबारे प्रश्न उठाएकी थिइन् ।
यसैबीच, ट्रम्पको कानुनी टोलीले मुद्दा फिर्ता लिएको जानकारी अदालतलाई दिएको केही मिनेटमै झण्डै १०० जना डेमोक्र्याट सांसदहरूले अदालतमा “न्यायालयका मित्र” निवेदन दर्ता गर्दै ट्रम्पमाथि “स्पष्ट स्वार्थपूर्ण व्यवहार” गरेको आरोप लगाएका छन् । उनीहरूले ट्रम्पले सरकारी शक्ति प्रयोग गरेर आफ्ना समर्थकहरूलाई आर्थिक लाभ दिलाउन खोजेको भन्दै अदालतले यो कदममाथि कडा निगरानी गर्नुपर्ने माग गरेका छन् ।