अध्यागमन विभागले सेवा प्रवाहलाई थप छिटो, पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यले ‘डिजिटल टाइम कार्ड’ प्रणाली कार्यान्वयनमा ल्याएको छ। बिहीबार विभागमा आयोजित विशेष कार्यक्रममा उक्त प्रणाली औपचारिक रूपमा सुरु गरिएको हो।
सरकारले गत चैत १३ गते सार्वजनिक गरेको ‘शासकीय सुधार सम्बन्धी १०० बुँदे योजना’ अन्तर्गत सार्वजनिक सेवाका प्रक्रियालाई डिजिटल, ट्र्याकिङ योग्य र पारदर्शी बनाउने नीति अनुसार यो प्रणाली लागू गरिएको अध्यागमन विभागले जनाएको छ।
विभागका प्रवक्ता टिकाराम ढकालका अनुसार अब सेवाग्राहीले आफ्नो आवेदन कुन चरणमा छ, कति समयभित्र काम सकिन्छ र प्रक्रिया कहाँ पुगेको छ भन्ने जानकारी मोबाइलबाटै लिन सक्नेछन्। यसले कार्यालय धाउने, पटक–पटक काउन्टरमा सोधपुछ गर्ने तथा अनावश्यक झन्झट झेल्नुपर्ने समस्या घट्ने अपेक्षा गरिएको छ।
नयाँ प्रणालीअनुसार आवेदनको ‘रियल टाइम ट्र्याकिङ’ गर्न सकिनेछ। सेवाग्राहीले आफ्नो कामको अनुमानित समय, आवश्यक प्रक्रिया र हरेक चरणको सूचना डिजिटल माध्यमबाट तुरुन्तै प्राप्त गर्नेछन्। त्यस्तै, डिजिटल टाइम कार्डमार्फत नै शुल्क भुक्तानी गर्ने सुविधा पनि उपलब्ध हुने विभागले जनाएको छ।
अध्यागमन विभागका अनुसार यो प्रणाली लागू भएपछि सेवाग्राहीले कार्यालयमा भीडभाड गर्नुपर्ने अवस्था कम हुनेछ भने सेवा प्रवाह अझ व्यवस्थित र छिटो बन्नेछ। विशेषगरी राहदानी, भिसा, प्रवेश अनुमति, श्रम प्रयोजनका कागजात तथा अन्य अध्यागमन सेवाका लागि आउने सेवाग्राहीलाई ठूलो राहत पुग्ने विश्वास गरिएको छ।
विभागले कार्यालयतर्फ पनि यसबाट धेरै फाइदा पुग्ने जनाएको छ। डिजिटल प्रणाली लागू भएपछि कर्मचारीको जिम्मेवारी र जवाफदेहिता थप सुदृढ हुने, तथ्यांकमा आधारित कार्यसम्पादन मूल्यांकन गर्न सहज हुने तथा सेवा प्रवाहको गति र दक्षता बढ्ने अपेक्षा गरिएको छ। साथै, पारदर्शिता बढ्दै नागरिकको विश्वास मजबुत बन्ने विभागको भनाइ छ।
विभागका अनुसार सेवाग्राहीले प्रत्येक शाखाको प्रतीक्षालयमा राखिएको क्यूआर कोड स्क्यान गरेर आफ्नो आवेदन ट्र्याक गर्न सक्नेछन्। त्यस्तै, अध्यागमन विभागको आधिकारिक वेबसाइटमार्फत पनि सेवा सम्बन्धी विवरण हेर्न र प्रक्रिया ट्र्याक गर्न सकिने व्यवस्था गरिएको छ।
सरकारले पछिल्लो समय सार्वजनिक सेवालाई डिजिटल माध्यममा रूपान्तरण गर्दै ‘कस्टमर फर्स्ट’ अवधारणाअनुसार नागरिकमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राखिरहेको छ। अध्यागमन विभागको डिजिटल टाइम कार्ड प्रणालीलाई पनि सोही अभियानको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।