साउदी अरबमा रहेका श्रमिकहरू ५० डिग्री सेल्सियसभन्दा बढी तापक्रम झेल्न बाध्य

आप्रवासन आप्रवासन

 साउदी अरबको राष्ट्रिय तेल कम्पनी साउदी आरम्कोको परियोजनामा काम गर्ने नेपालीसहित आप्रवासी श्रमिकहरु गम्भीर जोखिममा परेका छन् । 
उनीहरु हाल  कमजोर सुरक्षा व्यावस्थाका कारण गम्भीर जोखिममा रहेको एक अन्तराष्ट्रिय अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ । आप्रवासी श्रमिकको मानव अधिकारसम्बन्धी अनुसन्धान गर्ने लण्डनस्थित संस्था फेयर स्क्वायरद्वारा हालै सार्वजनिक प्रतिवेदनअनुसार साउदी आरम्को परियोजनामा कार्यरत नेपालीसहित विदेशी श्रमिकलाई अत्यधिक गर्मीमा लामो समयसम्म काम गराइने, असुरक्षित आवासस्थलमा राखिने, पर्याप्त आराम र खाना नदिने, दुर्घटना वा मृत्यु हुँदा समेत उचित क्षतिपूर्ति नपाइने अवस्था छ ।

आम्दानीका आधारमा यो विश्वकै चौथो ठूलो कम्पनीमध्ये  एक पर्छ । कम्पनीसँग विश्वकै दोस्रो ठूलो प्रमाणित कच्चा तेल भण्डार छ र अहिले पनि विश्वकै सबैभन्दा ठूलो तेल निर्यातकर्ता मानिन्छ । आरम्कोमा साउदी सरकार र सार्वजनिक लगानी कोषको करिब ९८ प्रतिशत स्वामित्व छ । आरम्कोले तेल बिक्रीबाट कमाउने आम्दानी साउदी सरकारको कुल राजस्वको करिब २ तिहाइ हिस्सा मानिन्छ ।  द वाल स्ट्रिट जर्नलुका अनुसार अराम्कोसँग साउदीभित्र मात्रै १० हजारभन्दा बढी आपूर्तिकर्ता कम्पनी छन् । ती कम्पनीअन्तर्गत विभिन्न उपठेकेदारमार्फत श्रमिक भर्ना गरिन्छ । यही जटिल संरचनाका कारण श्रमिकमाथि हुने शोषणमा जिम्मेवारी निर्धारण गर्न कठिन हुने गरेको प्रतिवेदनले जनाएको छ । यी परियोजनामा साउदीको निर्माण क्षेत्रमा कार्यरत नेपाली श्रमिकको करिब २० प्रतिशत  कार्यरत छन् ।

अराम्कोका विभिन्न परियोजनामा काम गर्ने श्रमिकहरूले ५० डिग्री सेल्सियसभन्दा बढी तापक्रममा दैनिक १२ देखि १४ घण्टासम्म काम गर्नुपरेको बताएका छन् । धेरै श्रमिक गर्मीका कारण कार्यस्थलमै बेहोस हुने प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा अराम्कोको २१ अर्ब अमेरिकी डलर लागतको ‘मार्जन इन्क्रिमेन्ट’ परियोजनामा काम गरेका श्रमिकका अनुसार यहाँ जुन र जुलाई महिनामा तापक्रम ५० डिग्री सेल्सियसभन्दा माथि पुग्ने गर्छ । पानीको कमी र अत्यधिक गर्मीका कारण धेरै श्रमिक बेहोस हुने गरेका छन् ।

उनका अनुसार तापक्रम ५० डिग्रीभन्दा माथि पुगे मात्रै काम रोकिन्छ । त्यसबाहेक श्रमिकलाई छायाँमा बसेर भए पनि काम गर्न लगाइन्छ । गोरखाका ४० वर्षीय प्रसाद अर्थात  नाम परिवर्तनले दमामस्थित ग्यास प्लान्टसँग सम्बन्धित पाइपलाइन परियोजनामा १३ वर्ष काम गरेका थिए । उनका अनुसार सुरक्षा अधिकारीहरूले आराम गर्न भने पनि फोरम्यानहरूले लगातार काम गर्न दबाब दिने गर्थे । सुरक्षा अधिकारीहरूले १ घण्टा काम गरेपछि १५ मिनेट आराम गर्न भने पनि व्यवहारमा त्यो सम्भव नभएको उनले बताए ।

 प्रतिवेदनले श्रमिकहरूको बसोबास अवस्था पनि दयनीय रहेको जनाएको छ । धेरै श्रमिक कन्टेनरमा कोचिएर बस्न बाध्य छन् । पानी पर्दा करेन्ट लाग्ने, शौचालय सफा नहुने र गुणस्तरहीन खाना दिइने उनीहरूको गुनासो छ । सबैभन्दा गम्भीर विषय भने कामकै क्रममा मृत्यु वा गम्भीर बिरामी भए श्रमिकका परिवारले न्याय नपाउनु रहेको प्रतिवेदनमा उल्लेख छ । अध्ययन गरिएका ६ घटनामध्ये एक परिवारले मात्रै उचित क्षतिपूर्ति पाएको पाइएको छ । 

अर्का मृतक श्रमिककी पत्नीले श्रीमानको मृत्युको कारणसमेत स्पष्ट नबताइएको गुनासो गरिन् । साउदी श्रम कानुनअनुसार कामका क्रममा मृत्यु वा स्थायी अशक्तता भए क्षतिपूर्ति दिनुपर्ने व्यवस्था भए पनि प्रक्रिया जटिल भएकाले धेरै परिवार न्यायबाट वञ्चित हुने गरेको प्रतिवेदनमा उल्लेख छ । फेयर स्क्वायरले यी विषयमा अराम्कोसँग प्रतिक्रिया मागे पनि अहिलेसम्म जवाफ नआएको जनाएको छ । अराम्को कम्पनीमा ७५ हजारभन्दा बढी कर्मचारी कार्यरत छन् । यसबाहेक विभिन्न परियोजनामा कार्यरत न्युन तलवमा काम गर्ने लाखौं श्रमिक संलग्न छन् । जसलाई ५० भन्दा बढी देशका सहायक कम्पनी, साझेदारी र संयुक्त कम्पनीमार्फत लगाइरहेको छ ।

सन् २०२५ को मध्यसम्म साउदी अरबमा कार्यरत १ करोड ८२ लाख श्रमिकमध्ये करिब १ करोड ४१ लाख विदेशी श्रमिक रहेका छन् । यो कुल श्रमिक शक्तिको ७७ प्रतिशत हो । सन् २०१९ मा विदेशी श्रमिकको संख्या ९४ लाख थियो । यीमध्ये अधिकांश दक्षिण एसियाली श्रमिक कम तलब काम गर्न बाध्य छन् । २०२४ मा निर्माण क्षेत्र मात्रै हेर्दा सन् करिब २४ लाख ७० हजार विदेशी पुरुष श्रमिक कार्यरत थिए । साउदीमा नेपालीको संख्या चार लाख रहेको छन् ।