वैदेशिक रोजगारीका नाममा ३१ लाखभन्दा बढी ठगी गर्ने तिन व्यक्ति पक्राउ

आप्रवासन आप्रवासन

वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिन्छु भन्दै बेरोजगार युवायुवतीहरूबाट ३१ लाखभन्दा बढी ठगी गर्ने तिन जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । आकर्षक तलभको प्रलोभन देखाई ग्रिस, फ्रान्स र क्रोएसिया पठाइदिन्छु भन्दै रकम असुलेर सम्र्पकविहिन भएका उनीहरूलाई काठमाडौँ उपत्यका विभिन्न स्थानबाट प्रहरीले नियन्त्रणमा लिई सार्वजनिक गरेको हो । 

प्रहरीका अनुसार, पक्राउ परेका व्यक्तिहरूले युवायुवतीलाई विदेश पठाउने भन्दै लामो समयसम्म प्रलोभनमा पारी पछि रकम हात पारेपछि सम्पर्कविहीन हुने गरेका थिए। पीडितहरूले दिएको जाहेरीका आधारमा अनुसन्धान गर्दा उनीहरूलाई उपत्यकाका विभिन्न स्थानबाट जेठ ११ गते पक्राउ गरिएको हो । 
यस्तो छ पक्राउ पर्ने व्यक्ति र ठगीको विवरण 
१. ग्रिस पठाइदिन्छु भन्दै १२ लाख ठगी ः ग्रिस पठाइन्छिु भन्दै १ व्यक्तिबाट १२ लाख ठगी गरेको आरोपमा जिल्ला चितवन कालिका नगरपालिका वडा नम्बर ६ निवासी हाल जिल्ला काठमाडौँ तार्केश्रर नगरपालिका बस्दै आएका १ व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा २७ वर्षीय मुस्कान घिमिरे रहेका छन् । उनीलाई काठमाडौँ जिल्ला टोखा नगरपालिका वडा नम्बर ३ बाट नियन्त्रणमा लिएको हो । 

२. फ्रान्स पठाउँछु भन्दै सोह्र लाख ठगी ः फ्रान्स पठाउँछु भन्दै १ व्यक्तिबाट सोह्र लाख ठगी गरेको आरोपमा जिल्ला मकवानपुर बकैया गाउँपालिका वडा नम्बर ९ निवासी हाल जिल्ला ललितपुर महानगरपालिका वडा नम्बर २३ मा बसोबास गर्दै आएका १ व्यक्ति पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा ३९ वर्षीय जनक बहादुर वईबा रहेका छन् । उनीलाई ललितपुर महानगरपालिका वडा नम्बर २३ बाट नियन्त्रणमा लिएको हो । 

३.क्रोएसिया पठाउँछु भन्दै ३ लाख बढी ठगी ः क्रोएसिया पठाउँछु भन्दै २ व्यक्तिबाट ३ लाख ३५ हजार ठगी गरेको आरोपमा जिल्ला सुनसरी रामधुनी नगरपालिका वडा नम्बर ५ निवासी हाल जिल्ला ललितपुर महालक्ष्मी नगरपालिका वडा नम्बर १ बसोवास गर्दै आएका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा २७ वर्षीय मिलन धिमिरे रहेका छन् । उनीलाई जिल्ला ललितपुर महालक्ष्मी नगरपालिका वडा नम्बर ४ बाट नियन्त्रणमा लिइएको हो । 

थप कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइयो
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी, प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ।

पछिल्लो समय वैदेशिक रोजगारीको नाममा हुने ठगीका घटनाहरू बढ्दै गएको भन्दै प्रहरीले अपरिचित व्यक्ति वा आधिकारिक दर्ता नभएका संस्थालाई रकम नबुझाउन र सचेत रहन सम्पूर्णमा समेत आग्रह गरेको छ ।