पर्यटकको औसत बसाइ १६.३४ दिन, प्रतिदिन औसत खर्च ३३.८ डलर

आप्रवासन आप्रवासन

हाल नेपालमा विदेशी पर्यटकको आकर्षक बढ्नुका साथै बसाइ पनि लम्ब्याउन थालेका छन् ।
यस्तै नेपालमा पर्यटकको औसत बसाइ दर १६.३४ दिन पुगेको छ । आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार पर्यटकको बसाइ अवधिमा सुधार भएको हो ।

सन् २०२५ मा ११ लाख ६२ हजार पर्यटक नेपाल आएका थिए । सो आधारमा निकालिएको तथ्यांक अनुसार पर्यटकको प्रतिदिन औसत खर्च ३३.०८ अमेरिकी डलर रहेको देखिएको आर्थिक सर्वेक्षणमा उल्लेख छ । सन् २०२५ मा पर्यटक आय ८७ अर्ब ३७ करोड रुपैयाँ बराबर रहेको छ । सन् २०२४ मा यस्तो आय ८३ अर्ब ३४ करोड बराबर थियो । सन् २०२४ मा औसत बसाइ १३.३० दिन रहेको थियो । यो वर्ष १६.३४ दिन पुगेको हो । औसत खर्च भने घटेको छ ।

अध्यागमन विभागले पर्यटकको आगमन र प्रस्थान मिति प्रविष्ट गर्न स्वचालित प्रणाली सञ्चालनमा ल्याएसँगै पर्यटकको बसाइ अवधि गणना गर्न थालेपछि औसत खर्च घटेको हो । सन् २०२५ मा नेपाल आएका पर्यटकमध्ये ६०.२ प्रतिशत बिदा र मनोरन्जनका लागि आएका थिए । अहिले देशभर ३५ विमानस्थल सञ्चालनमा छन् । ३२ अन्तर्राष्ट्रिय र २० आन्तरिक वायुसेवा कम्पनीले हवाई सेवा दिइरहेका छन् ।