कुशीनगरबाट ४५३ नेपाली उद्धार घटना : नेटवर्किङमा लाग्न बाध्य पारेर ‘बन्धक’

आप्रवासन आप्रवासन

रोजगारीको अवसर दिने बहानामा नेपाली नागरिकहरूलाई झुटा आश्वासन दिएर भारतमा बन्धक बनाएका ४५३ जनालाई नेपाल फर्काइएको छ ।

उत्तर प्रदेशको कुशीनगरमा बन्धक बनाइएकाहरूलाई उद्धार गर्न नेपाली राजदूतावासमा कार्यरत एसएसपी प्रकाश मल्ल कुशीनगर पुगेका थिए । मल्ल नेतृत्वको टिमले नेपाली नागरिकहरूलाई शनिबार बेलहिया नाका हुँदै भैरहवा ल्याएको छ । भारतीय प्रहरीसँग समन्वय गरेर त्यहाँ शारीरिक र मानसिक यातना भोगिरहेकालाई उद्धार गरिएको प्रहरी अधिकृतहरू बताउँछन् ।

त्यहाँबाट फिर्ता हुनेमा ४० जिल्लाका नागरिक छन् । सुरुमा उनीहरूलाई रोजगारीको अवसर दिने बहानामा झुटा आश्वासन दिइन्छ र कुशीनगरस्थित अनधिकृत कम्पनीमा लगिन्छ । त्यहाँ पुगेपछि पीडितहरूलाई भनेजस्तो काम दिइँदैन । त्यसको सट्टा गिरोहले उनीहरूसँगै विभिन्न तरिकाले रकम असुल्ने गरेको लुम्बिनी प्रदेशका डीआईजी भुपेन्द्र खत्रीले बताए ।

रोजगारीको लोभमा उत्तर प्रदेश लगिएकाहरूलाई गिरोहका सदस्यहरूले तालिमको बहनामा विभिन्न ठाउँमा घुमाएको अनुसन्धानबाट खुलेको छ । रिभाइब स्किल डेभलपमेन्ट एण्ड ट्रेडिङ एलएलपी र वेलस्टार डाइनामिक कम्पनीको नाम यो प्रकरणमा जोडिएको छ । यसमा संलग्न गिरोहको सो कम्पनीसँग सम्बन्ध हुनसक्ने नेपाली अधिकारीहरूको आशङ्का छ ।

उद्धारमा संलग्न नेपालका एक अधिकारीले भने, ‘ठगीजन्य गतिविधि सञ्चालन गर्न ती कम्पनीको नाम दुरुपयोग गरिएको पनि हुनसक्छ ।’

भारतबाट उद्धार गरिएका ४५३ नेपाली बेलहिया नाका हुँदै स्वदेश फिर्ता

तालिम पूरा भएपछि रोजगारको लोभ देखाएर गिरोहले पीडितहरूलाई आफ्ना परिवारसँग २ देखि ३ लाख रुपैयाँ माग्न दबाब दिन्छन् । नेपाल आएका पीडितहरूले नेपालबाट रकम नमगाएसम्म स्वतन्त्र रूपमा मोबाइल प्रयोग गर्न नदिएको अनुसन्धान अधिकृतहरू समक्ष बताएका छन् ।

रकम सङ्कलन गरेपछि रोजगारी दिनुको साटो लाखौँको बिल बनाइएका सामान भिराएर बेच्न पठाउने र टार्गेट दिने गरिन्छ । पैसा तिरेपछि थप १० जना ल्याउनुपर्ने शर्त राख्ने र त्यसबापत पद बढ्ने भन्दै गिरोहका सदस्यहरूले दबाब दिने गरेको अनुसन्धानबाट खुलेको छ ।

डीआईजी भुपेन्द्र खत्रीले भने, ‘नेटवर्किङ टाइपको बिजनेश रहेछ, पैसा तिरेपछि थप १० जना ल्याउनुपर्ने शर्तका कारण एकै ठाउँका धेरै मानिसहरू त्यहाँ पुगेको देखिन्छ ।’

डोल्पा र कालिकोट लगायत जिल्लाका मानिसहरू धेरै त्यहाँ पुगेको भेटिएको छ । तालिम लिएकाहरूले बोलाएका १० जनालाई पनि नयाँ भर्ना हुन दबाब दिने र त्यसपछि उनीहरूलाई पनि बन्धक बनाएर सोही प्रक्रिया दोहो¥याउने गरेको भेटिएको छ । त्यस्तो दृश्य देखेपछि बाहिर निस्केका मान्छेहरूबाट प्रहरीलाई खबर आएको डीआईजी खत्रीले जानकारी दिए । उनले भने, ‘त्यसपछि उद्धारको प्रक्रिया अघि बढाइएको हो ।’ 

उद्धारपछि नेपाल फर्केका एक जना पीडितका अनुसार गिरोहका सदस्यहरूले परिवारसँग पैसा माग्न र चिनजानका आफन्तलाई बोलाउन निरन्तर दबाब दिन्छन् । परिवारसँग ठुलो रकम मागिसकेको र आफ्नो चिनजानका मानिसहरूलाई त्यहाँ लगेका कारण भविष्यमा राम्रो काम पाइएला भनेर धेरै पीडितहरू त्यहाँबाट भाग्न हिचकिचाउने गर्छन् ।

  • १९ जना अनुसन्धानको दायरामा

भारतको सुनौली हुँदै बेलहिया नाकाबाट भैरहवा ल्याइएका पीडितहरूमध्ये अधिकांशलाई प्रहरीले उनीहरूको रेकर्ड राखेर घर फिर्ता पठाएको छ । तर, सँगै ल्याइएका १९ जना भने अनुसन्धानको दायरामा छन् । पीडितहरूलाई उत्तर प्रदेश लैजान प्रभावमा पारेको ‘म्यानुपुलेट’ आशङ्कामा १९ जनामाथि सोधपुछ भइरहेको रुपन्देहीका एसपी जनक शाहीले रातोपाटीलाई बताए । उनले भने, ‘उनीहरू लिडर जस्ता छन्, केही संलग्नता खुल्छ कि भनेर सोधपुछ गरिरहेका छौँ ।’

फर्किनेमा एक साताअघि त्यहाँ पुगेकाहरू देखि ३ महिनाअघि गएकाहरू सम्म छन् । पीडितहरूले कुनै व्यक्तिविरुद्ध उजुरी गरेका छैनन् । नियन्त्रणमा रहेका १९ जनाको संलग्नता भए उनीहरूको विरुद्ध पनि उजुरी गर्न आग्रह गरिएको एसपी शाहीले बताए । उनले भने, ‘हालसम्म पीडितहरूले उजुरी दिएका छैनन्,’ फर्किनेमा आधाभन्दा धेरै महिला छन् ।

अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार यो घटना कुशीनगरको बजार क्षेत्रमा रहेको गान्धी चोक नजिकैको तीनचार वटा घरहरूमा भइरहेका थिए ।