अवैध आप्रवासी कामदार

आप्रवासीप्रति साउदी कठोर, सातामै १८ हजार पक्राउ

आप्रवासन आप्रवासन

साउदी अरबले एक साताको अवधिमै १८ हजार बढी आप्रवासी कामदारलाई पक्राउ गरेको छ ।

साउदीको गृह मन्त्रालय अनुसार मार्च २७ देखि अप्रिल २ सम्ममा १८ हजार ४०७ आप्रवासीलाई पक्राउ गरिएको हो । पक्राउ पर्ने आप्रवासी कामदारलाई आवासीय, सीमा सुरक्षा र श्रम कानुन उलङ्घनको अभियोग लगाइएको छ ।

जसमध्ये १२ हजार ९५५ जना आवासीय कानुन उलङ्घनको आरोपमा पक्राउ परेका छन् । ३ हजार ५१२ जनामाथि सीमा सुरक्षा कानुन र १ हजार ९०० माथि श्रम कानुन पालना नगरेको आरोप छ ।

यसबाहेक, अवैध रूपमा साउदी प्रवेश गर्न खोज्ने १ हजार २६० जना र साउदी छाड्न खोज्ने ६७ जनालाई पनि गिरफ्तार गरिएको छ ।

यसरी पक्राउ परेकामध्ये ७ हजार ५२३ आप्रवासीहरूलाई देश निकाला गरिएको छ । पछिल्लो समय साउदीले अवैध रूपमा बसिरहेका आप्रवासी कामदार माथिको धरपकड तीव्र पार्दै लगेको छ ।

फलस्वरूप एक सातामै हजारौँ गिरफ्तारीमा पर्ने गरेका छन् । यद्यपि, यसरी पक्राउ र देश निकालामा पर्नेमा नेपाली रहे नरहेको विवरण मन्त्रालयले खुलाएको छैन ।

साउदीमा करिब ४ लाख नेपाली कार्यरत छन् ।