वैदेशिक रोजगारीको नाममा विभिन्न देश पठाइदिन्छु भन्दै १४ जना बेरोजगार युवायुवतीहरूबाट ५८ लाख ३८ हजार ठगी गर्ने दुई जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । आकर्षक तलभको प्रलोभनमा परी क्रोएसिया, ग्रिस र अन्य देश पठाइदिन्छु भन्दै रकम असुलेर सम्र्पकविहिन भएका उनीहरूलाई काठमाडौँ उपत्यका छुट्टा छुट्टै स्थानबाट प्रहरीले नियन्त्रणमा लिई सार्वजनिक गरेको हो ।
प्रहरीका अनुसार, पक्राउ परेका व्यक्तिहरूले युवायुवतीलाई विदेश पठाउने भन्दै लामो समयसम्म झुलाएर राखेको र पछि रकम हात पारी सम्पर्कविहीन हुने गरेका थिए। पीडितहरूले दिएको जाहेरीका आधारमा अनुसन्धान गर्दा उनीहरूलाई उपत्यका छुट्टा छुट्टै स्थानबाट ज्येष्ठ १८ गते पक्राउ गरिएको हो।
यस्तो छ पक्राउ पर्ने व्यक्ति र ठगीको विवरण
१ पक्राउ पर्नेमा जिल्ला सिन्धुली तिनपाटन गाउँपालिका वडा नम्बर ९ निवासी हाल जिल्ला ललितपुर महालक्ष्मी नगरपालिका वडा नम्बर २ मा बसोबास गर्दै आएका ४० वर्षीय भागिरथी पराजुली गौतमलाई यही जेठ १८ गते नियन्त्रणमा लिई प्रहरीले सार्वजनिक गरेको हो ।
२ पक्राउ पर्नेमा जिल्ला काठमाडौँ बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ११ निवासी हाल ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका वडा नम्बर २ मा बसोबास गर्दै आएका ४६ वर्षीय कृष्ण कुमार खड्कालाई जेठ १८ गते नियन्त्रणमा लिई प्रहरीले सार्वजनिक गरेको हो ।

थप कारबाहीका लागि उनीहरुलाई वैदेशिक रोजगार विभाग पठाइयो
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी, प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार पक्राउ परेका चारै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ।
पछिल्लो समय वैदेशिक रोजगारीको नाममा हुने ठगीका घटनाहरू बढ्दै गएको भन्दै प्रहरीले अपरिचित व्यक्ति वा आधिकारिक दर्ता नभएका संस्थालाई रकम नबुझाउन र सचेत रहन सर्वसाधारणलाई आग्रह समेत गर्दै आइरहेको छ ।