यस वर्ष नेपालसहित विश्वका विभिन्न क्षेत्रमा औसतभन्दा बढी तापक्रम रहने सम्भावना रहेको विज्ञहरूले बताएका छन्। साथै, औसतभन्दा कम वर्षा हुन सक्ने अनुमान गरिएको छ। बढ्दो तापक्रमका कारण विशेष गरी खुला स्थानमा काम गर्ने श्रमिकहरू तथा विदेशमा रहेका नेपाली कामदारहरू उच्च जोखिममा रहेको जनाइएको छ।
अत्यधिक गर्मीले शरीरमा विभिन्न प्रकारका स्वास्थ्य समस्या निम्त्याउन सक्छ। सामान्य अवस्थामा अत्यधिक थकान महसुस हुने, धेरै तिर्खा लाग्ने, रिंगटा लाग्ने तथा मांसपेशी दुख्नु वा बाउँडिने जस्ता लक्षण देखिन सक्छन्।
स्वास्थ्य विज्ञहरूका अनुसार कृषि, निर्माण, उद्योग तथा खाडी मुलुकका खुला क्षेत्रमा कार्यरत श्रमिकहरू गर्मीजन्य स्वास्थ्य समस्याबाट बढी प्रभावित हुने गरेका छन्। हावा आवतजावत तथा ताप नियन्त्रणको पर्याप्त व्यवस्था नभएका कार्यस्थलमा काम गर्ने श्रमिकहरू पनि जोखिममा पर्ने गरेका छन्।
त्यस्तै, मध्यम प्रकृतिका समस्यामा ढिलो प्रतिक्रिया जनाउनु, अत्यधिक थकान महसुस हुनु, मांसपेशी धेरै बाउँडिनु, खान मन नलाग्नु, वान्ता हुनु, धमिलो देखिनु तथा टाउको दुख्ने समस्या देखिन सक्छ। गर्मीका कारण गम्भीर अवस्था सिर्जना भए लगातार वान्ता हुनु, चिडचिडेपन बढ्नु, बोली लरबराउनु, काममा ध्यान केन्द्रित गर्न नसक्नु, शरीरमा कम्पन आउनु तथा बेहोस हुने जस्ता लक्षण देखिन सक्ने स्वास्थ्यकर्मीहरूले बताएका छन्।
यस्ता समस्या देखिएमा तत्काल शरीरमा बरफ लगाउने वा चिसो पानीमा राख्ने, शरीरमा पानी छर्केर पङ्खा भएको स्थानमा राख्ने, आपत्कालीन स्वास्थ्य सेवामा सम्पर्क गर्ने तथा नजिकको स्वास्थ्य संस्थामा पुर्याउनुपर्ने सुझाव दिइएको छ।
गर्मीजन्य रोगबाट बच्न स्वास्थ्यकर्मीहरूले लामो, खुकुलो तथा हावा सजिलै छिर्ने कपडा लगाउन, टोपी तथा घामबाट बच्ने सामग्री प्रयोग गर्न, बिहान वा साँझको समयमा बढी शारीरिक श्रम गर्न तथा तिर्खा नलागे पनि नियमित रूपमा पानी पिउन आग्रह गरेका छन्।
विशेष गरी खाडी मुलुक तथा अत्यधिक तापक्रम हुने देशहरूमा कार्यरत नेपाली श्रमिकहरूलाई आवश्यक सावधानी अपनाउन विज्ञहरूले सुझाव दिएका छन्। शरीरमा पानीको मात्रा पर्याप्त राख्नु तथा स्वास्थ्यमा देखिने असामान्य लक्षणप्रति सचेत रहन पनि उनीहरूले आग्रह गरेका छन्।
स्वास्थ्य नै सबैभन्दा ठूलो धन भएकाले गर्मीबाट जोगिन आवश्यक सावधानी अपनाएर सुरक्षित रहन विज्ञहरूको सुझाव छ।