फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने

आप्रवासन आप्रवासन

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाईदुबईले २३ सेप्टेम्बर २०२६ देखि नियमित दैनिक अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने भएको छ। 

उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी निरीक्षण सम्पन्न भएपछि फ्लाईदुबईले आगामी २३ सेप्टेम्बर २०२६ देखि पोखरा–दुबई दैनिक उडान सञ्चालनका लागि अनुमति प्राप्त गरेको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले जानकारी दिएका छन्।

मेयर आचार्यले सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गर्दै यो उपलब्धि केवल नयाँ हवाई सेवा थपिने विषय मात्र नभई पोखराको अन्तर्राष्ट्रिय पहिचान स्थापित गर्ने, पर्यटन प्रवर्द्धन गर्ने, आर्थिक गतिविधि विस्तार गर्ने तथा काठमाडौं केन्द्रित हवाई चापलाई विकेन्द्रीकरण गर्ने ऐतिहासिक अवसर भएको बताएका छन्।

लामो प्रयासपछि प्राप्त भएको यो उपलब्धिलाई सफल बनाउन सहयोग गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरण, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री गणेश पौडेल, युनिभर्सल ट्राभल्सका चेयरमेन पराशर प्रसाई सहित सम्बन्धित सम्पूर्ण टिम र निकायप्रति प्रमुख आचार्यले हार्दिक कृतज्ञता व्यक्त गरेका छन् । उनले सम्पूर्ण पर्यटन व्यवसायी, पोख्रेली नागरिक तथा स्वदेश र विदेशमा रहेका नेपालीहरूलाई पोखरा–दुबई रुटबाट यात्रा गरी प्रारम्भिक महिनाको चुनौतीलाई सफल बनाउन विशेष आग्रह गरेका छन् ।