"डिजिटल सूचना तथा स्रोत केन्द्र स्थापना गर्न वैदेशिक रोजगार बोर्डद्वारा सामग्री उपलब्ध गराउन आग्रह"

आप्रवासन आप्रवासन

वैदेशिक रोजगार बोर्डको सचिवालयले एक सुचना जारी गदै श्रम, आप्रवासन तथा वैदेशिक रोजगारसँग सम्बन्धित विभिन्न सूचना, अध्ययन तथा जनचेतनामूलक सामग्री उपलब्ध गराइदिन सम्बन्धित संस्था तथा सरोकारवालासँग अनुरोध गरेको छ।

बोर्डले श्रम, सुरक्षित आप्रवासन र वैदेशिक रोजगारीसम्बन्धी सूचना, ज्ञान, अनुसन्धान तथा जनचेतनामूलक सामग्रीलाई एकीकृत रूपमा अध्ययन र पहुँचयोग्य बनाउने उद्देश्यले डिजिटल सूचना तथा स्रोत केन्द्र स्थापना गर्ने तयारी गरेको जनाएको छ।

यसका लागि हालसम्म उत्पादन, प्रकाशन तथा प्रसारण भएका भिडियो, वृत्तचित्र, सूचनामूलक भिडियो क्लिप, रेडियो जिङ्गल, पोडकास्ट, रेडियो नाटक, चेतनामूलक अडियो सन्देश, अध्ययन प्रतिवेदन, अनुसन्धानमूलक लेख, म्यानुअल तथा ब्रोसरलगायत सामग्रीको डिजिटल प्रति निःशुल्क उपलब्ध गराउन बोर्डले आग्रह गरेको छ।

0bde9e24-4ab1-4441-8988-de7b891162a6

बोर्डका अनुसार प्राप्त सामग्रीहरू डिजिटल सूचना तथा स्रोत केन्द्रमा समावेश गरी श्रम तथा आप्रवासन क्षेत्रका सरोकारवालालाई एकै स्थानबाट सूचना उपलब्ध गराइनेछ।

सचिवालयले सम्बन्धित सामग्री इमेल वा अन्य डिजिटल माध्यमबाट पठाउन सकिने जनाएको छ। थप जानकारीका लागि शाखा अधिकृत संजय अधिकारी ९९८४१७१४६३२० सँग सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ।

बोर्डले श्रम र आप्रवासन क्षेत्रलाई थप पारदर्शी, व्यवस्थित तथा सूचनामैत्री बनाउन सबै निकायबाट सहयोगको अपेक्षा गरेको जनाएको छ।