वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने कामदारलाई पठाउँदा स्वदेशी विमानस्थल प्रयोग गर्न इजाजतपत्रप्राप्त म्यानपावर कम्पनीहरूलाई निर्देशन दिएको छ।
विभागले आइतबार सूचना जारी गर्दै वैदेशिक रोजगार ऐन, २०६४ को दफा २२ अनुसार वैदेशिक रोजगारीका लागि कामदार पठाउँदा स्वदेशी विमानस्थल प्रयोग गर्नुपर्ने व्यवस्था रहेको स्मरण गराएको हो।
सूचनामा कुनै विशेष कारणवश विदेशी विमानस्थल प्रयोग गर्नुपर्ने अवस्था आएमा विभागबाट पूर्वअनुमति लिएर तोकिएको प्रक्रिया पूरा गरेपछि मात्र प्रयोग गर्न सकिने उल्लेख गरिएको छ।विभागले वैदेशिक रोजगार व्यवसाय सञ्चालनका लागि इजाजतपत्र प्राप्त संस्थाहरूलाई ऐन तथा नियमावलीमा व्यवस्था भएबमोजिम कामदारको उडान व्यवस्थापन गर्न आग्रह गरेको छ।
विभागका अनुसार उक्त व्यवस्था पालना नगरे कानुनबमोजिम कारबाही हुन सक्ने भएकाले सम्बन्धित सबै निकायलाई नियमको पूर्ण पालना गर्न अनुरोध गरिएको छ।विभागले थप जानकारीका लागि श्रमाधान कल सेन्टरको नम्बर ९७७ —०१—५९७०००८मा कल गर्न सकिने र उक्त नन्वरमा २४सै घण्टा सम्पर्क गर्न सकिने जनाएको छ।
